काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्। कार्यक्रममा सहभागी हुन व्यक्तिगत रूपमा उपस्थित हुने इच्छा व्यक्त गरे पनि स्वास्थ्यस्थितिका कारण त्यसो गर्न नसकेको उनले स्पष्ट पारे।

नयाँ भवनबाट जनतालाई थप सेवा पुर्याउन र विकास निर्माणका कामलाई तीव्रता दिन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले पाल्पालाई उर्वर भूमि र साक्षर जिल्ला भएकोले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले केही मानिसहरूले विकासविरोधी कुरा गर्दै जनतालाई भ्रममा पार्ने प्रयास गरिरहे पनि यस्ता हल्लाको कुनै अर्थ नहुने बताए। सरकारको स्थायित्वबारे आएका अफवाहलाई खण्डन गर्दै प्रधानमन्त्री ओलीले एमाले–कांग्रेस गठबन्धनको सरकार २०८४ सालको निर्वाचनसम्म सुदृढ रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्रीको आग्रह अनुसार प्रशासकीय भवनले स्थानीय विकास र जनसेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।
