
बाँके, – नेपालगञ्जमा चिसो बढेपछि सामुदायिक र संस्थागत विद्यालयहरूमा तीन दिनको जाडो बिदा दिइएको छ। आजदेखि माघ ११ गतेसम्म विद्यालय बन्द रहने निर्णय भएको हो।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताए अनुसार, मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी नगरी बिदा दिइएको हो।
शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ उत्पन्न गराएको र अभिभावकहरूले समेत विद्यालय र पालिकामा बिदाका लागि अनौपचारिक रूपमा अनुरोध गरेका थिए।
चिसो बढ्नु र शीतलहरको असरले विद्यार्थी र शिक्षकहरूका लागि विद्यालयमा जान गाह्रो बनेको भन्दै यो निर्णय गरिएको हो। ११ गतेसम्मको बिदाबाट विद्यार्थी र शिक्षकहरूले राहत प्राप्त गर्नेछन्।
