– झापा प्रहरीले चालु आर्थिक वर्षको पहिलो छ महिनामा लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न २१३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता र प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार, पक्राउ गरिएका व्यक्तिहरूसँग खैरो हिरोइन, गाँजा, चरेस लगायत लागुऔषध पदार्थ बरामद गरिएको छ।

पक्राउ गरिएका व्यक्तिहरूसँग झण्डै ३.६७ किलोग्राम गाँजा, ७२०.८० ग्राम खैरो हिरोइन, ७,२३७ ट्याबलेट ट्रमाडोल, एन्टिकफलगायत ट्याबलेटहरू पनि बरामद भएका छन्। प्रहरीले विशेष रूपमा लागुऔषध नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थान र सीमानाका क्षेत्रहरूमा सर्तकता बढाएको छ।
यस वर्षको पहिलो छ महिनामा झापा जिल्लामा १५१ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन्। प्रहरी प्रवक्ता चन्दले भने, “सीमानाकासम्म लागुऔषधको कारोबार सक्रिय रहेको देखिन्छ, र हामीले यसको नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ।”
साथै, प्रहरीले फरार प्रतिवादीहरूबाट १४८ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाएको छ। झापा प्रहरीले भन्सार छली गर्ने प्रवृत्तिका विरुद्ध पनि कडा कदम चालेको छ, र मेची भन्सार कार्यालयमा रु १ करोड ६१ लाख १० हजार सात सय २२ बराबरको सामान बरामद गरी बुझाइएको छ।
झापा प्रहरीले लागुऔषध र भन्सार छली नियन्त्रणका लागि सक्रियता थप गर्दै जिल्ला र सीमानाका क्षेत्रहरूमा निगरानी बढाएको छ।
