काठमाडौं = नेपाल सरकारले माघ २२ देखि देशभरका १० देखि १४ वर्ष उमेरका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले टोखामा आयोजित ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै यो ऐतिहासिक अभियानबारे जानकारी दिनुभयो।

मन्त्री पौडेलका अनुसार महिलामा क्यान्सर रोकथामका लागि सरकारले पाँच प्रमुख अस्पतालमा किशोरीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ। यसका साथै, पक्षघातको औषधि निःशुल्क वितरण गर्ने योजना र स्वास्थ्य विमाको रकम हालको एक लाखबाट पाँच लाख पुर्याउने सरकारको लक्ष्य छ।
“क्यान्सरजस्ता गम्भीर रोगबाट किशोरीहरूको जीवन जोगाउन यो खोप अभियान देशकै स्वास्थ्य क्षेत्रका लागि कोसेढुङ्गा सावित हुनेछ,” मन्त्री पौडेलले भन्नुभयो।
टोखामा जनकल्याणको योगदान
टोखा नगरपालिकाको सहकार्यमा जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको शिविरमा २ सयभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरियो। २०७० सालमा स्थापना भएको केन्द्रले अहिलेसम्म ३५१ पटक रक्तदान तथा स्वास्थ्य शिविरहरू सञ्चालन गरिसकेको छ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनकल्याण सामाजिक केन्द्रले समाज रुपान्तरण र स्वास्थ्य सेवामा पु¥याएको योगदानको प्रशंसा गर्दै निरन्तर सहकार्यको प्रतिबद्धता जनाउनुभयो।
स्वास्थ्य अभियानमा सबैको सहकार्य आवश्यक
कार्यक्रममा विभिन्न क्षेत्रका १२ भन्दा बढी व्यक्तिलाई समाज सेवामा योगदानका लागि सम्मान गरिएको थियो। जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासका अनुसार संस्थाले आगामी दिनमा स्वास्थ्य शिविरका साथसाथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै जानेछ।
महिलाको स्वास्थ्य सुरक्षाका लागि यो खोप अभियानले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ। सरकारले यसलाई प्रभावकारी बनाउन सबै पक्षसँग सहकार्य गर्ने योजना अघि सारेको छ।
