नयाँ दिल्ली – भारतको राजस्थान राज्यको जयसलमेर जिल्लामा सोमबार दिउँसो एक यात्रुबसमा लागेको आगलागीबाट कम्तीमा २० जनाको ज्यान गएको छ भने १६ जना गम्भीर रूपमा घाइते भएका छन्। जयसलमेरबाट जोधपुरतर्फ जाँदै गरेको उक्त निजी एसी बस थैयात गाउँ नजिक आइपुग्दा अचानक आगलागी भएर पूरै जलेको हो।

प्रत्यक्षदर्शीका अनुसार दिउँसो करिब तीन बजेतिर बसको पछाडिको भागबाट धुँवा निस्कन थालेपछि चालकले तत्काल बस रोक्ने प्रयास गरे तर केही क्षणमै आगोले बसलाई पूर्ण रूपमा घेर्यो र यात्रुहरू निस्कन नपाई भित्रै फँसे। बसभित्र तीव्र गतिमा फैलिएको आगोका कारण करिब सबै यात्रु जलेर ज्यान गुमाए। उद्धारका लागि स्थानीय बासिन्दा, प्रहरी र दमकलको टोली घटनास्थल पुगेको थियो तर आगोको तिव्रता अत्यधिक भएकोले नियन्त्रण गर्न कठिनाइ भएको थियो।
घाइतेहरूलाई सुरुमा जवाहर अस्पताल, जयसलमेरमा पुर्याइएको थियो भने अवस्था गम्भीर रहेका केहीलाई जोधपुर र जयपुरस्थित ठूला अस्पतालमा रेफर गरिएको छ। प्रशासनका अनुसार धेरै शवहरू पूर्ण रूपमा जलेर बिग्रिएका कारण मृतकको पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने अवस्था आएको छ। मृतकहरू मध्ये तीन बालबालिका र चार महिला रहेको भारतीय मिडियाले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा आगलागीको कारण पटका वा एसी कम्प्रेसरको विस्फोट हुनसक्ने अनुमान गरिएको छ। केही स्थानीय स्रोतहरूले बसमा आतिशबाजी सामग्री समेत रहेको दाबी गरे पनि त्यसको पुष्टि भएको छैन।
दुर्घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई–दुई लाख रूपैयाँ र घाइतेलाई पचास–पचास हजार रूपैयाँको आर्थिक सहयोग दिने घोषणा गरेका छन्। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले घटनास्थल पुगेर राहत तथा उद्धार कार्यको अनुगमन गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने निर्देश दिएका छन्। जयसलमेर प्रशासनले उच्चस्तरीय छानबिन समिति गठन गरी दुर्घटनाको कारण पत्ता लगाउने कार्य सुरु गरेको जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउने धेरैजसो एकै गाउँका परिवार सदस्यहरू रहेको र उनीहरू उत्सवमा सहभागी हुन जाँदै गरेको बताइएका कारण घटनाप्रति स्थानीय बासिन्दा अत्यन्त शोकाकुल बनेका छन्।
स्रोतअनुसार घटनास्थलमा उद्धार कार्य अझै जारी छ र प्रशासनले शव पहिचान तथा परिवारलाई हस्तान्तरणको प्रक्रिया अघि बढाइरहेको छ। बस पूरै जलिसकेकाले घटनास्थलमा कालो धुवाँ र जलेको गन्ध अझै फैलिएको बताइन्छ।
