
- पूर्व मुख्यसचिव एकनारायण अर्याल मलेसिया पठाउने क्रममा अवैध रकम असुलेको अभियोगमा पक्राउ परेका छन् ।
- यस प्रकरणमा यसअघि दुई पूर्वमन्त्री र तत्कालीन श्रम सचिवसहित १० जना पक्राउ परिसकेका छन् ।
- पक्राउ परेका सबैमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
काठमाडौ -पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

मलेसियामा वैदेशिक रोजगारीका लागि कामदार पठाउने क्रममा अवैध रूपमा रकम असुलेर मलेसिया नै पठाएको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।

गृह मन्त्रालयका एक अधिकारीले अर्याल पक्राउ परेको जानकारी दिँदै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताए । यद्यपि, उनलाई कुन स्थानबाट पक्राउ गरिएको हो भन्ने विषय भने खुलाइएको छैन ।
यसै प्रकरणमा संलग्न रहेको आरोपमा यसअघि नै पूर्व श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरका साथै तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।
पक्राउ परेका सबैमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।
