
- काठमाडौंको गौशालामा सुपा देउराली सांस्कृतिक समाजद्वारा भव्य देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
- कारागारबाट मुक्त भएपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रमुख अतिथिका रूपमा उक्त कार्यक्रममा सहभागी हुनुभएको छ।
- कार्यक्रमले नेपाली मौलिक कला, संस्कृति र अर्घाखाँचीवासीबीचको सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।
काठमाडौं। सुपा देउराली सांस्कृतिक समाजद्वारा आयोजित देउसी–भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम काठमाडौंको गौशालास्थित युनियन पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली मौलिक कला, संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा अर्घाखाँचीका नेता टोपबहादुर रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाएर गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट मुक्त हुनुभएको थियो। कारागारमुक्तिपछि उहाँ काठमाडौंमा आयोजित यस सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको हो। अर्घाखाँचीको कला, संस्कृति र सामाजिक सम्बन्धसँग जोडिएको यस कार्यक्रमले जिल्लावासीबीचको भेटघाट र आत्मीयतालाई समेत विशेष बनाएको थियो।

कार्यक्रममा भोजबहादुर शाह, लक्ष्मण रायमाझी, ऋषि भुसाल, विशाल मिश्र, सविन खड्का, पवित्रा रिजाल, खिमानन्द घिमिरे, डासुराम घिमिरे, लक्ष्मी घिमिरे, केवल ज्ञवाली, कल्पना अधिकारी, धनेन्द्र बस्नेतलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यसैगरी युनियन पार्टी प्यालेसका सञ्चालक हरिबहादुर रायमाझी, गिरीश पन्थी, भानु खनाललगायतको समेत आतिथ्यता रहेको थियो।
कार्यक्रममा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालसहित चिरञ्जीवी अर्याल, मीना न्यौपाने, ध्रुव बस्नेत, मुकुन्द भुसाल, क्रिष्टिना शाह, गीता पराजुली, पुष्पा शाह, किरण पन्थी, छविलाल बेलबासे, कृष्ण भुसाल, सबिता अधिकारी, कल्पना अधिकारी, मुकुन्द घिमिरे, अनिल भुसाल, नरहरि घिमिरे, आशा अधिकारी, अम्बिका पौडेल, प्रकाश बस्नेत, धनेन्द्र बस्नेतलगायतका कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनुभएको थियो।
कलाकारहरूको गायन, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रम स्थललाई उत्सवमय बनाएको थियो। विशेषगरी नेपाली मौलिकता झल्काउने देउसी–भैलो, सोरठी नाच तथा कलाकार प्रकाश बस्नेतको बाँसुरीको मधुर धुनमा प्रस्तुत गरिएका परम्परागत नृत्यले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो। कलाकारहरूको प्रस्तुतिमा सहभागी दर्शकहरूले उत्साहपूर्वक साथ दिँदा गौशालास्थित कार्यक्रम स्थल नेपाली कला र संस्कृतिको संगम बनेको थियो।
कार्यक्रमको सञ्चालन सुपा देउराली सांस्कृतिक समाजका विशिष्ट व्यक्तित्व सुभाष ज्ञवालीले गर्नुभएको थियो। उहाँको सहज, रोचक र व्यवस्थित सञ्चालनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका अर्घाखाँचीवासीलाई एउटै सांस्कृतिक मञ्चमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रमले जन्मभूमिप्रतिको आत्मीयता, आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको सन्देश दिएको छ। रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा जन्मभूमिबाट टाढा रहे पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न सकिन्छ भन्ने सन्देश कार्यक्रमले दिएको सहभागीहरूको भनाइ छ।
सुपा देउराली सांस्कृतिक समाजले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानसँग जोड्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ। संस्कृति हाम्रो पहिचान हो। यसको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको साझा जिम्मेवारी भने उदेश्यले उक्त कार्यक्रम आयोजन गरेको आयोजकले जनाएको छ म।
