
- रारामा संघीयता कार्यान्वयनका कानुनी जटिलता र समन्वयबारे छलफल गर्न सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको सम्मेलन सुरु भएको छ।
- सम्मेलनमा तीन तहका सरकारबीच देखिएका कानुनी समस्या, अधिकार र नीतिगत विषयमा राय सुझाव संकलन गरी समीक्षा गरिँदैछ।
- दुई दिन चल्ने यस सम्मेलनको अन्तिम दिन संघीयताका चुनौती र समाधानका उपायसहितको रारा घोषणापत्र जारी गरिनेछ।
रतन बहादुर रावल मुगु- राराम संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी जटिलता, प्रदेश सरकारका अधिकार र तीन तहका सरकारबीचको समन्वयका विषयमा छलफल गर्न सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरू मुगुको रारामा भेला भएका छन् ।

‘सक्षम मुख्य न्यायाधिवक्ता, सुदृढ प्रदेश सरकार र प्रभावकारी संघीयता’ भन्ने नारासहित आठौँ मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन बुधबारदेखि सुरु भएको हो । कर्णाली प्रदेश सरकारको आयोजनामा भएको सम्मेलनको उद्घाटन मुख्यमन्त्री मंगलबहादुर शाहीले गरे ।

सम्मेलनमा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलसहित सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरू सहभागी छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी समस्या, प्रदेश सरकारका संवैधानिक तथा कानुनी अधिकार र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयका विषयमा छलफल हुने कार्यक्रम छ ।
उद्घाटन सत्रको अध्यक्षता गरेका कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता सर्वराज जोशीका अनुसार पहिलो दिन सातै प्रदेशका मुख्य न्यायाधिवक्ताबाट कानुनी तथा नीतिगत विषयमा राय र सुझाव संकलन गरिनेछ । यसअघि सम्पन्न राष्ट्रिय सम्मेलनबाट जारी घोषणापत्रमा समेटिएका विषयको कार्यान्वयन अवस्थाबारे पनि समीक्षा गरिनेछ ।
सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले संघीयता प्रभावकारी बनाउन तीनै तहका सरकारबीच कानुनी र संस्थागत समन्वय आवश्यक रहेको बताए । संघीय सरकारले बनाएका कतिपय ऐन, कानुन तथा कार्यविधिका कारण प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा समस्या देखिएको उनको भनाइ थियो ।
उनले तीनै तहका सरकारबीच कानुनी एकरूपता कायम गर्न र देखिएका समस्या समाधान गर्न आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए ।
कार्तिक १९ र २० गते सञ्चालन हुने सम्मेलनको अन्तिम दिन रारा घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ । घोषणापत्रमा संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी चुनौती र समाधानका उपायबारे साझा धारणा समेटिने अपेक्षा गरिएको छ ।
राष्ट्रिय सम्मेलन रारा क्षेत्रमा आयोजना गरिएकाले यसले मुगुको प्रमुख पर्यटकीय गन्तव्य राराको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
