
- लेखक राजेश भिन्वार यादवले आमाको १०औँ स्मृतिमा यो भावनात्मक संस्मरण लेखेका छन्।
- दशैँ र तिहारजस्ता चाडपर्वमा घर फर्किंदा आमा नभएको आभासले उनको मन पिरोलिएको छ।
- उनले अर्को जुनीमा पनि आमाकै काखमा जन्मिन पाउने इच्छा व्यक्त गरेका छन्।

शब्द:- राजेश भिन्वार यादव

आमा, तिमीले यो संसार छोडेको दस वर्ष हुन लाग्यो,
तर मेरो मनमा तिम्रा यादहरू आज पनि ताजा छन्।
आमा, समयले घाउ पुरानो बनायो होला, तर
तिम्रो अभाव कहिल्यै पुरानो भएन।।
तिमीले छोडेर गएको लक्ष्मीपूजा फेरि आउन थालेको छ,
दशैँ–तिहारको त्यो रमाइलो मौसमले तिम्रो अभाव झन् गहिरो बनाउन लागेको छ। तिमी घरमा हुनेछैनौ भन्ने कुराले मन पिरोल्न थालेको छ।।
सहरबाट गाउँ फर्किने बेला नजिकिँदै गर्दा, मनमा घर जाने खुसीभन्दा पहिले तिम्रो यादले पोल्न थालेको छ,
किनकि गाउँ त उही छ, घर पनि उही छ, तर त्यो घरमा तिमी छैनौ भन्ने आभास गहिरिन थालेको छ।।
दशैँमा घर पुग्दा तिमीलाई मात्र खोज्नेछन् यी आँखाहरू भन्ने कुराले मन पिरोल्न थालेको छ।
सबैको आँगन उज्यालो हुँदा मेरो मनको एउटा कुनामा
तिम्रो अभावको अँध्यारो बलिरहनेछ।।
कति ठूलो रहर थियो होला तिम्रो, आफ्नो छोरालाई ठूलो भएको हेर्ने, उसको सफलतामा मुस्कुराउने, उसको निधारमा हात राखेर “मेरो छोरा” भन्दै आशीर्वाद दिने।
तर नियतिले हामीलाई सँगै बस्ने समय नै थोरै दियो।।
यो जुनीमा तिमीसँग १३ वर्ष मात्र बिताउन पाएँ।
अर्को जुनीमा तिम्रो छोरो भएर सारा जीवन तिम्रै काखमा बिताउन आऊँ आमा, आफ्नो जीवनको हरेक सफलतामा तिमीलाई मुस्कुराएको हेर्न पाऊँ आमा।।
मनले आफैँलाई सोध्छ, किन यति चाँडै गयौ आमा?
अझै त तिम्रो काख चाहिएको थियो, अझै त तिम्रो हात समातेर धेरै बाटो हिँड्नु थियो, अझै त तिम्रो मुखबाट
“मेरो छोरा” सुन्नु थियो।।
तिमी नभएको दस वर्ष त बिताएँ, तर कसरी बिताएँ, त्यो मलाई मात्र थाहा छ।
साथीभाइले आफ्ना आमासँग कुरा गर्दा, आमासँग जोडेर विभिन्न कुरा चल्दा,
तिम्रो बारेमा कसैले सोध्दा मन बेसरी पोल्थ्यो आमा।।
तिम्रो अभावले मेरो मन सधैँ पिरोल्छ। अरूका आमालाई हेर्दा,
“काश, मेरो पनि आमा भएको भए” भन्ने विचारले
मनमा काल्पनिक कथा बनाउँछु आमा।
तिमीलाई धेरै सम्झिन्छु—आज पनि, भोलि पनि र मेरो अन्तिम साससम्म।।🥀❤️
राजेश भिन्वार यादव
मिर्चैया -12 सिक्रोन , सिराहा ..पशु प्राबिधिक तथा पशु चिकित्सा शास्त्रका बिधार्थी हुन ।
