
- ठूलो वर्षाको सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
- विपद्का समयमा आवश्यक औषधि, स्वास्थ्य सामग्री र जनशक्ति पर्याप्त मात्रामा व्यवस्था गर्न भनिएको छ।
- आकस्मिक स्वास्थ्य सेवा, एम्बुलेन्स र उद्धार कार्यलाई समन्वय गरी सहज बनाउन मन्त्रालयले आग्रह गरेको छ।
काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ठूलो वर्षाको सम्भावना रहेपछि देशैभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावनना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन निर्देशन दिएको हाे । निरन्तर वर्षाका कारण बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट दुर्घटना, चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई शतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। साथै, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपद्का समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।
सम्भावित विपद्का घटनामा बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन, एम्बुलेन्स सेवाको प्रभावकारी समन्वय-सञ्चालन गर्न तथा आवश्यकताअनुसार सङ्घीय र प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
