
- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी झापा, धनकुटा र पाल्पामा गरी तीन जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्।
- पोखरामा ठूलो परिमाणको लागूऔषधसहित ६ जना पक्राउ परेका छन् भने राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- इंग्ल्यान्डले श्रीलंकाविरुद्धको टी-२० शृंखला क्लिन स्विप गरेको छ र नेपालमा बिहीबारदेखि मनसुनको प्रभावले भारी वर्षाको सम्भावना रहेको छ।
राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आजदिनभरका समाचार

१. झापा गाउँपालिका-४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले जानकारी दिए।दुर्घटनामा गम्भीर घाइते भएका थिए। छातीमा गम्भीर चोट लागेका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।गत बिहीबार झापा गाउँपालिका-३ मा भएको मोटरसाइकल दुर्घटनामा पनि एक जना भारतीय युवकको मृत्यु भएको थियो।
२.श्रीलंकाले इंग्ल्यान्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन गरेपछि तीन खेलको शृंखला घरेलु टोलीले क्लिन स्विप गरेको छ। तेस्रो टी-२० मा श्रीलंका १२४ रनमै अलआउट भयो। इंग्ल्यान्डले उक्त लक्ष्य ९.४ ओभरमै पूरा गर्दै ८ विकेटको सहज जित निकाल्यो।यो जितसँगै इंग्ल्यान्डले श्रीलंकामाथि टी-२० अन्तर्राष्ट्रियमा लगातार १५औँ जित हात पारेको छ। साथै, इंग्ल्यान्डले भारतलाई पछि पार्दै आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानसमेत पुनः हासिल गरेको छ।१२५ रनको सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि जोस बटलर र ह्यारी ब्रुकले आक्रामक ब्याटिङ गरे। यी दुईले ३९ बलमै ८५ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई सहज जितको आधार तयार पारे।इंग्ल्यान्डले पावरप्लेको समाप्तिमा एक विकेट गुमाएर ८२ रन बनाइसकेको थियो। आठौँ ओभरमै टोलीले सय रन पूरा गरेको थियो। त्यसपछि इंग्ल्यान्डले १०औँ ओभर सुरु हुनुअघि नै लक्ष्य पूरा गर्यो।बटलरले ३२ बलमा ६२ रन बनाए। उनले आफ्नो उत्कृष्ट इनिङ्सको अन्त्य छक्कासहित गरे। स्क्वायर लेगतर्फ एक हातले प्रहार गरेको छक्कासँगै उनले इंग्ल्यान्डलाई जित दिलाए। ह्यारी ब्रुकले पनि आक्रामक सुरुआत दिलाउँदै महत्वपूर्ण योगदान गरे।श्रीलंकाका लागि थारिन्दु रत्ननायकेले एन्युरिन डोनाल्डलाई स्टम्पिङ गराए भने ह्यारी ब्रुकलाई रनआउट गर्ने मौका पनि पाएको थियो। तर, त्यसबाहेक श्रीलंकाका बलरले इंग्ल्यान्डका ब्याटरलाई दबाबमा राख्न सकेनन्।श्रीलंकाले तीव्र गतिका बलर नुवान तुषारालाई टोलीमा समावेश गरेको थियो। तर उनले दुई ओभरमा २९ रन खर्चिए। इशन मलिङ्गाले १.४ ओभरमा ३४ तथा दिलसान मदुशंकाले दुई ओभरमा २३ रन दिए।यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंका १२४ रनमै समेटिएको थियो। उसका लागि पाथुम निसान्काले २४ बलमा ३६ रन बनाए भने कामिन्दु मेन्डिसले २८ बलमा ३५ रन जोडे। यी दुईबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
३. पोखरा महानगरपालिका-५ बाट प्रहरीले ठूलो परिमाणको लागू औषधसहित छ जनालाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले शनिबार राति करिब ८:३० बजे बा.प्र.०१–०३५च१४३६ नम्बरको ईभी गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागू औषध बरामद गरेको हो।विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा डाइजापाम ४०० एम्पुल, फेनेरागन ६१३ एम्पुल, र नुरफिन ६०० एम्पुल गरी कुल १,६१३ एम्पुल तथा ९९८ चक्की टपेन्डाडोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।घटनामा संलग्न रहेको अभियोगमा पर्वत मोदी गाउँपालिका-६ का ३३ वर्षीय सुरज नेपाली, २८ वर्षीय प्रेम सुवेदी र ३५ वर्षीय होमबहादुर थापा, रुपन्देही मायादेवी गाउँपालिका-१ का २८ वर्षीय महेन्द्र आराख र ४१ वर्षीय जन्मेजेय केवट तथा पोखरा-१७ बिरौटा बस्ने ३३ वर्षीय राजेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।नियन्त्रणमा लिइएका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
४. धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमानेमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको जिप ब्रेक फेल भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।प्रहरीको अनुसार दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ बस्ने अन्दाजी ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली खटिई घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ।दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको रघटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
५. बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकसित हुँदै गएपछि आगामी बिहीबारदेखि नेपालमा त्यसको प्रभाव देखिन सक्ने मौसमविद्हरूले बताएका छन्। प्रारम्भिक मौसम मोडलहरूले पश्चिम नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको उनीहरूको बताएका हुन्।यद्यपी, मौसम मोडलहरूले प्रणालीको वास्तविक गति, दिशा र प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती बताउँछन्। उनले बंगालको खाडीमा न्यूनचापीय अवस्था विकास हुँदै गएको र त्यसको प्रभाव नेपालमा देखिन सक्ने प्रारम्भिक संकेत देखिएको बताए।प्रमुख उप्रेतीका अनुसार आगामी बिहीबारदेखि नेपालमा मौसम प्रणालीको प्रभाव देखिन सुरु हुन सक्नेछ। शुक्रबारको मध्यरातदेखि पश्चिम नेपालमा यसको प्रभाव बढी देखिन सक्ने प्रारम्भिक अनुमान छ।विशेषगरी लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रदेखि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्मका क्षेत्रमा शुक्रबार राति, शनिबार, आइतबार र सोमबारसम्म वर्षाको प्रभाव रहन सक्ने प्रारम्भिक आकलन गरिएको छ। तर अहिले विभिन्न मौसम मोडलहरूले वर्षाको मात्रा र प्रणालीको प्रभावबारे फरक–फरक अनुमान गरिरहेका छन्। त्यसैले तत्कालै भारी वा अति भारी वर्षा हुने भनेर निष्कर्ष निकाल्न नमिल्ने उप्रेतीको भनाइ छ।‘विभिन्न मोडलले फरक–फरक अवस्था देखाएका छन्। कुनै मोडलले धेरै भारी वर्षा देखाएको छ भने अर्कोले कम देखाएको छ प्रणाली आउने सम्भावना देखिए पनि यसको गति र प्रभाव कस्तो हुन्छ भन्ने कुरा अहिले नै निर्क्योल भइसकेको छैन।’यस्तै, त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बिहीबारदेखि नेपालमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।
६. नेकपा एमालेले वर्तमान सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने भएको छ।एमाले कार्यदलले सर्वसम्मत रूपमा पारित गरेको प्रतिवेदनमा सरकारविरुद्ध आन्दोलन चर्काउन छिट्टै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक डाक्ने निष्कर्ष निकालिएको हो।आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले पार्टीलाई प्रतिपक्षी र जुझारु ढङ्गले अगाडि बढाउने बताए।वर्तमान सरकार अधिनायकवादी, प्रतिशोधी, निरंकुश र जनविरोधी शैलीमा चलेको निष्कर्ष निकाल्दै एमालेले त्यसको विरुद्धमा सशक्त सडक आन्दोलन गर्ने रणनीति तय गरेको उनले जानकारी दिए।यस्तै, एमालेले तत्काल पार्टीको विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन नबोलाउने भएको छ। नेतृत्व परिवर्तन, ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधानजस्ता महत्त्वपूर्ण विषयहरू अब पार्टीको नियमित महाधिवेशन र विधान अधिवेशनमै छलफल गरेर टुंगो लगाइने बस्नेतले बताए।यसअघि कार्यदलमा प्रस्तुत भएका फरक-फरक प्रतिवेदनलाई एकीकृत गर्न नेताहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिइएको थियो।उनीहरूले तयार पारेको २९ पृष्ठको एकीकृत प्रतिवेदनमा १३ वटा समूहबाट आएका सुझावहरूलाई अनुसूचीमा समावेश गर्दै कार्यदलले सर्वसम्मत रूपमा पारित गरेको छ।
७. भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ।नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन्।फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ। पहिचान नभएको एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ। बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ।
८.राजनीति विश्लेषक, चिन्तक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन्। मोरङको बेलबारी स्थित प्रहरी कार्यालयले उनलाई प`क्राउ गरेको हो।राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाल सुन्दरहरैचा-८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन्।उनलाई अहिले विराटनगर लगिएको छ। प्रहरीका अनुसार उनलाई आजै काठमाडौँ ल्याइनेछ।उनले सत्ता र शासन व्यवस्थाका त्रुटीहरू विरुद्ध निरन्तर र सशक्त रूपमा प्रतिपक्षि भूमिका निर्वाह गर्दै आएका थिए। त्रिमुल नेपालले दाहाल माथिको धरपकड हालको कथित लोकतान्त्रिक गणतन्त्रको वास्तविक चरित्र उजागर गर्ने घटना भएको उल्लेख गरेको छ।
९. हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।यतिबेला लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली (बादल) रहेको छ भने बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूका साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।तराईका पनि एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।रातिको समयमा पनि हिमाली र पहाडी भूभागमा साधारणतया बदली नै रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका पनि एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
१०. पाल्पाको तानसेन नगरपालिका वडा नं. ८ भालेबासमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आइतबार दिउँसो करिब ३:३० बजे सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।दुर्घटनामा परी पूर्वखोला गाउँपलिका वडा नं. ५ निवासी अन्दाजी ६२ वर्षीया अनसरा खाम्चा को मृत्यु भएको छ।दुर्घटनालगत्तै गम्भीर घाइते अवस्थामा लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकी खाम्चाको उपचारका क्रममा दिउँसो करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते हुनेहरू:
१. नरबहादुर राना (२९ वर्ष, गाडी चालक) – पूर्वखोला गाउँपालिका–१
२. कृष्णबहादुर राज मगर (५० वर्ष) – पूर्वखोला गाउँपालिका–१
३. मनकुमारी सारू (२८ वर्ष) – पूर्वखोला–४ (हाल तानसेन–४, भगवती टोल)
४. साहिरस सारू (७ वर्षीया बालिका) – मनकुमारीकी छोरी
५. सायरा खाम्चा (५ वर्षीया बालिका) – मृतक अन्सारी खाम्चाकी नातिनी
घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताउनुभयो।
