
- मुगुको रोवास्थित प्रभावित माध्यमिक विद्यालयका ५४२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
- अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बहादुर बोहराको सहयोगमा सामग्री वितरणसँगै विभिन्न प्रतियोगिता सम्पन्न भएका छन्।
- बोहराले मुगुमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पुर्याएको योगदानको स्थानीयले उच्च प्रशंसा गरेका छन्।
रतन बहादुर रावल मुगु- मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं.११ रोवा गाउँमा रहेको श्री प्रभावित माध्यमिक विद्यालयका ५४२ जना विद्यार्थीहरूलाई शैक्षिक (स्टेसनरी) सामग्री वितरण गरिएको छ।

पूर्व सशस्त्र प्रहरी बलका हवल्दार, धावक खेलाडी एवं अक्कल कोपिला फाउन्डेसनका संस्थापक, समाजसेवी अक्कल बहादुर बोहराको विशेष सहयोगमा उक्त सामग्रीहरू वितरण गरिएको हो। हाल स्पेनको कोस्टा ब्लङ्कामा बस्दै आउनुभएका बोहराले फाउन्डेसनका प्रतिनिधिहरू मार्फत विद्यालयमै पुगेर सो सामग्री वितरण गराउनुभएको हो।
शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरू निकै उत्साहित र खुसी भएका छन्। आफ्नै विद्यालयको प्राङ्गणमा फाउन्डेसनले प्रतिनिधि खटाएर सामग्री वितरण गरेपछि स्थानीय बासीहरूले सहयोगी मनका धनी बोहरालाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
सामग्री वितरण कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिका वडा नं. ११ की वडा अध्यक्ष कुञ्जुमा कुमाईले समाजसेवी अक्कल बहादुर बोहराले मुगु जिल्लामा अत्यन्तै सराहनीय र उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले विकट क्षेत्रका बालबालिकाको शिक्षामा पुर्याएको यो योगदानको उच्च कदर गर्दै बोहरा र फाउन्डेसनलाई धन्यवाद दिनुभयो।

स्टेसनरी सामग्री वितरणको अवसरमा विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता र देउडा खेल कार्यक्रम समेत आयोजना गरिएको थियो। प्रतियोगिताहरूमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी तथा सहभागीहरूलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको थियो, जसले कार्यक्रममा थप रौनक थपेको थियो।

लामो समयदेखि मुगु जिल्लाभरिका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आउनुभएका बोहराले जिल्लामा थुप्रै सामाजिक कार्यहरू गर्नुभएको छ। छायाँनाथ रारा नगरपालिकाका विभिन्न वडाहरूमा मसानघाट निर्माण, प्रतीक्षालय (यात्रु बिसौनी), खानेपानीका धारा जडान, गोरेटो बाटो मर्मत तथा आरसीसी (RCC) ढलान गर्ने जस्ता विकास निर्माणका काममा उहाँको ठुलो योगदान रहेको छ।
यति मात्र नभएर, अस्पतालमा उपचार गराउन नसकेर छटपटाइरहेका दीनदुःखी, गरिब र असहाय व्यक्तिहरूका लागि बोहरा सधैँ अमूल्य ‘भगवान’ बनेर सहयोगी हात फैलाउँदै आउनुभएको स्थानीयले बताएका छन्।
