
- अर्घाखाँचीको भूमिकास्थानमा मदिरा सेवन गरी भएको झडपमा १२ जना घाइते भएका छन्।
- घाइतेहरूमध्ये केहीको बुटवलमा उपचार भइरहेको छ भने केही उपचारपछि डिस्चार्ज भएका छन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै दोषीमाथि कारबाही गर्ने जनाएको छ।
अर्घाखाँची, २४ भदौ। मादक पदार्थ सेवन गरी सुरु भएको सामान्य होहल्ला र विवादले उग्र रूप लिँदा अर्घाखाँचीको भूमिकास्थानमा १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार भूमिकास्थान नगरपालिका–८, लात्तेबाँजमा काठको काम गर्ने कामदार र स्थानीय व्यक्तिहरूबीच भदौ २३ गते राति करिब ९:३० बजे झैझगडा भएको थियो। मदिराको मातमा चर्किएको भनाभन कुटपिटमा परिणत हुँदा पाल्पा र अर्घाखाँचीका गरी १२ जना व्यक्तिहरू घाइते हुन पुगेका हुन्।
घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ। घाइतेमध्ये लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पाल्पा रैनादेवी छहरा–८ का रेशम राना (२२), विवेक पड्गेनी (१८), किशोर रास्कोटी (२४), तिलक घर्ती (३०), लाल बहादुर राना (३०), जित बहादुर राना (३०), सोम बहादुर घर्ती (२७) र पाणिनी–२ अर्घाखाँचीका भरत रोका (२४) गरी ८ जनाको उपचार भइरहेको छ।
त्यस्तै, जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पश्चात् पाल्पाका डिल बहादुर रास्कोटी (३१) र पाणिनीका मुकेश सुर्यवंशी (३५) डिस्चार्ज भइसकेका छन्। छायाँ अस्पताल सन्धिखर्कमा उपचार गराएका भूमिकास्थान–८ का महेश श्रेष्ठ (२५) र सचिन श्रेष्ठ (२५) डिस्चार्ज भएका छन् भने सोही ठाउँका ४० वर्षीय महेश श्रेष्ठलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरी निरीक्षक फले बहादुर तामाङले नेपाल खोज खबर लाई बताएका छ्न ।
स्थानीय स्तरमा मादक पदार्थको अनियन्त्रित सेवनका कारण यस्ता अप्रिय घटनाहरू बारम्बार दोहोरिने गरेका छन्। प्रहरी निरीक्षक फले बहादुर तामाङका अनुसार घटनाको सत्यतथ्य छानबिन भइरहेको छ र दोषीहरूमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ। समाजमा शान्ति सुरक्षा कायम राख्न तथा मदिराजन्य विकृति नियन्त्रण गर्न स्थानीय प्रशासन र नागरिक समाज दुवैको सजगता उत्तिकै आवश्यक रहेको नेपाल खोज खबर लाई बताएका छ्न ।
