
- भ्रष्टाचार र कुशासनविरुद्धको अभियानबाट रास्वपा एक इन्च पनि पछि नहट्ने प्रतिबद्धता छ।
- आन्दोलनमा घाइते र पीडितहरूको उपचार तथा पुनर्स्थापना राज्यले सुनिश्चित गर्नुपर्छ।
- परिवर्तनका लागि अब देशमा कुनै पनि आमाको काख रित्तिन नहुने रवि लामिछानेको भनाइ छ।
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्।

आन्दोलनको १ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग तथा मानसिक र शारीरिक पीडा भोग्नुपरेका सबैको राज्यले उपचार, पुनर्स्थापना तथा उचित हेरचाह गर्ने बताए।
उनले परिवर्तनका लागि कुनै पनि आमाको काख फेरि नरित्तिने बताए। उनले भनेका छन्,‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्।’
उनले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजका लागि भएको बलिदानलाई राष्ट्रले सधैं सम्झिरहनुपर्ने बताए।
