
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्दै आज राष्ट्रिय शोक दिवस मनाइएको छ र बाढी प्रभावितको अपमान हुने गरी भिडियो बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
- बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३५५ पुगेको छ भने हजारौँ अझै बेपत्ता रहेकाले खोजी र उद्धार कार्य जारी छ, जसमा बेपत्ताका परिवारको डीएनए नमुना संकलन पनि भइरहेको छ।
- सुनचाँदीको मूल्यमा गिरावट आएको छ, मुस्ताङमा स्याउ टिप्न खुल्ला गरिएको छ भने अमेरिकाको विमान दुर्घटना र जापानको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।
राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समचार

१. रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ।राष्ट्रिय शोक दिवसका अवसरमा नेपालभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालयका परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
२. भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५५जनाको शव फेला परेको छ। यस्तै, बाढीमा परी अझै चार हजार ९९३ जना सम्पर्कविहीन छन्।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार सोमबार बिहान ११ बजेसम्म रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, तनहुँमा ३८ र चितवनमा ३६३ शव फेला परेको हो।
यस्तै, बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी कुल २१ हजार ४०२ जना सुरक्षाकर्मी खटाइएका छन्।विभिन्न स्थानबाट जम्मा १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।
३. नेपाली सुनचाँदी बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्य घटेको छ।आज सुन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यससँगै आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख चार हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रूपैयाँले घटेर चार हजार ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
४.अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटना भएको छ ।रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७६७/३०० कार्गो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे मियामीमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो ।विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको थियो । रनवेबाट बाहिरिएपछि विमानले कैयौँ सवारीसाधनलाई ठक्कर दिएको थियो ।
त्यसपछि विमानमा भीषण आगलागी भएको थियो । विमानको अगाडिको भाग धसिने गरी रोकिएको थियो । घटनालगत्तै करिब २०० जना अग्निनियन्त्रक उद्धार तथा आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो । घाइते पाँचजनामध्ये तीन जनालाई गम्भीर अवस्थामा स्थानीय ट्रमा सेन्टर र अन्य दुईजनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।अमेजनकी प्रवक्ता केली नान्टेलले विज्ञप्तिमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले मृतकका परिवार तथा दुर्घटनाबाट प्रभावित सबैप्रति अमेजनका तर्फबाट समवेदना व्यक्त गरेकी छन् ।
५. मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ। गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो।यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो। आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइने गरी खुल्ला गरिएको छ।मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन्। अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन्।मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाई राख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो।
६. नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ।प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर भिडियो बनाउने बैतडी सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौंको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सञ्जालमा सार्वजनिक गरेकाले पक्राउ गरिएको जानकारी दिए।पक्राउ परेका मडैमाथि जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए।
७. जापानमा सोमबार भारी वर्षा हुँदा टोकियोसहित पूर्वी जापानका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ।
जापानको मौसम विज्ञान एजेन्सीले टोकियोको दक्षिणमा रहेका निजिमा र ओशिमा टापुसहित विभिन्न क्षेत्रमा पहिरो, बाढी र नदीको सतह बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। एजेन्सीका अनुसार निजिमामा २४ घण्टामा ४८० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। इजु ओशिमा टापुमा स्थानीय समय अनुसार सोमबार बिहान ९:१० बजेसम्म २४ घण्टामा ५५५ मिलिमिटर वर्षा भएको छ, जुन अत्याधिक वर्षामध्ये एक हो।भारी वर्षाका कारण टोकियो, चिबा, कानागावा र आसपासका क्षेत्रमा डुबान परेको छ। चिबामा भारी वर्षाका कारण दुई जना सामान्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। फुकुशिमा प्रान्तको इवाकीमा अन्डरपासमा डुबेको कारबाट ६० वर्षकी एक महिलालाई बेहोस अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो। उनलाई अस्पतालले मृत घोषित गरेको स्थानीय अग्नि नियन्त्रण विभागले जनाएको छ। अर्को कारमा रहेका व्यक्ति भने सकुशल बाहिरिएका छन्।भारी वर्षाका कारण देशभर ७४८ सार्वजनिक प्राथमिक र माध्यमिक विद्यालयले कक्षा रद्द गरेका छन्। रेल सेवा पनि प्रभावित भएको छ। पूर्वी जापान रेलवेको यामानोते, चुओ र सोबु लाइनमा सामान्यभन्दा २० देखि ३० प्रतिशत कम रेल सञ्चालन भएका छन्।
८.भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पाल्पाका नौ जनामध्ये आठ जनाका आफन्तबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ।गत भदौ १० गते गएको भोटेकोशी बाढीपछि पाल्पाका ११ जना सम्पर्कविहीन भएकामा निस्दी–३ का बोमबहादुर सोमै सम्पर्कमा आउनुभएको थियो। नेपाल प्रहरीमा कार्यरत एक जनाको शव पनि फेला परेको थियो। बाँकी नौ जनाको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन ।तीमध्ये आठ जनाका परिवारका सदस्यले डीएनए परीक्षणका लागि नमुना दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र पन्जियार थारुले बताउनुभयो। एक जनाको नमुना लिन बाँकी छ ।प्रहरीका अनुसार तानसेन–१० का नेपाल प्रहरीका सहायक प्रहरी हवल्दार दीपेन्द्र विष्टको शव फेला परेपछि पहिचान भइसकेको छ । रैनादेवीछहरा–१ का सशस्त्र प्रहरी जवान अनबहादुर कुमाल, रिब्दीकोट–३ का विकास नेपाल र तिनाउ–२ का रमेश थापाका परिवारले डीएनए परीक्षणका लागि नमुना दिइसकेका छन् ।यस्तै, तानसेन–७ की निमल कार्की, रिब्दीकोट–५ का कृष्णबहादुर बस्याल, तानसेन–३ का तिलक राना, रामपुरका रामु सोती र सोही स्थानका अमृत सोतीका परिवारले पनि डीएनए परीक्षणका लागि नमुना दिएको प्रहरीले जनाएको छ ।आठ जनाका परिवारका सदस्यले पाल्पा तथा नेपालका अन्य अस्पतालमा पुगेर नमुना दिएका हुन् ।भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पाल्पाका अधिकांश व्यक्ति रसुवागढी हाइड्रोपावरमा कार्यरत थिए । उनीहरू सुरुङभित्र फसेको हुन सक्ने आशंका परिवारले गरेका छन् । सुरुङभित्र उद्धारको काम छिटो गर्न सके बेपत्ता आफन्त जीवितै भेटिन सक्ने आशा परिवारजनले गरेका छन्।
९. राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको उल्लेख गर्दै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल हुने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको योगदानको प्रशंसा गरेका छन् । उनले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य रोक्ने कारण नबनाउन नहुने बताए।
१०. पाल्पाका अस्पतालहरूमा डेङ्गुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । साउन र भदौ महिनामा डेङ्गुबाट सङ्क्रमित बिरामी १७१ पुगेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।
पाल्पामा यो वर्षको दुई महिनामै एक सय ७१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।पछिल्लो दुई महिनाको अवधिमा डेङ्गुबाट सङ्क्रमित हुने बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।दश वर्षअघिसम्म तराईमा मात्र देखिने डेङ्गु सार्ने डेङ्गु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको प्रभाव पछिल्लो समय पहाडमा देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमै डेङ्गुका बिरामी सबैभन्दा धेरै पाल्पाको रहेको बताउनुभयो ।डेङ्गुको सङ्क्रमण भएका बिरामी टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने समस्या लिएर अस्पताल आउने गरेका छन् ।डेङ्गु सङ्क्रमित बिरामीलाई भर्ना गरेर उपचार गर्नुपरेको अस्पतालको भनाइ छ । डेङ्गु सङ्क्रमणपछि शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
