काठमाडाैं । सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ ।

बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईं समूहसँग सरकारी टोलीले औपचारिक छलफल गरेको हो । वार्तामा दुर्गा प्रसाईं स्वयं सहभागी नभई आफ्ना प्रतिनिधिहरूलाई पठाउनुभएको छ ।
प्रसाईं समूहको तर्फबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र सदस्य देवीप्रसाद संग्रौला लगायत सहभागी रहेका छन् ।
सरकारसँगको यो संवादलाई प्रसाईं पक्षले आन्दोलन अघि सकारात्मक पहलका रूपमा लिएको बताइएको छ । उनले मंसिर ७ गतेबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेका छन् ।
यसपटकको आन्दोलनका तयारीका क्रममा प्रसाईंले नेपाली काँग्रेस (विपी) पक्षसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय गर्नुभएको छ । राजनीतिक सहकार्य र वार्ता प्रक्रियाले आगामी आन्दोलनको दिशा निर्धारण गर्ने दुर्गा प्रसाई समूहका केही व्यक्तिहरूले बताएका छन्।

