राज्यको हस्तक्षेप र राजनीतिले शिक्षा प्रणाली ध्वस्त बनायो : पूर्वराष्ट्रपति डा. यादव

समाचार सारांश
Auto Generated by AI
  • राज्यले शिक्षाको जिम्मा लिएपछि बढेको राजनीतिक हस्तक्षेपले समग्र शिक्षा प्रणाली ध्वस्त भएको पूर्वराष्ट्रपति डा. यादवको टिप्पणी छ।
  • पुरस्कार छनोटमा मधेशका शिक्षकहरू नपरेको प्रति उनले गम्भीर चिन्ता व्यक्त गर्दै शिक्षाको गुणस्तर सुधारमा जोड दिएका छन्।
  • शिक्षकहरू समाज निर्माणका आधारस्तम्भ भएको बताउँदै उनले वातावरण संरक्षण र प्रकृति मैत्री शिक्षाको आवश्यकता औंल्याएका छन्।

काठमाडौ -पूर्वराष्ट्रपति डा. रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतिकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन्।

Workplace

शनिबार पी.पी. प्रसाई फाउण्डेशनद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले पहिले समुदायले सञ्चालन गरेका शिक्षण संस्थाहरू उत्कृष्ट रहेको स्मरण गर्दै सरकारीकरण र राजनीतिक हस्तक्षेपले सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बनाएको बताए।

उनले भने, ‘पहिले समुदायले नै शिक्षाको जिम्मा लिन्थ्यो। जनकपुरमा रामस्वरूप साह र विराटनगरमा कृष्णप्रसाद कोइरालाहरूले दान दिएर विद्यालय खोले, भारतबाट समेत उत्कृष्ट शिक्षक ल्याए। तर, जब राज्यले जिम्मा लियो— राजनीति गडबड भयो र सारा शिक्षा प्रणाली नै बिग्रियो। आज सामुदायिक विद्यालयमा गणितको शिक्षक भए अंग्रेजीको छैन, अंग्रेजीको भए नेपालीको छैन। यो हालत छ।’

समारोहमा उत्कृष्ट शिक्षकहरूको छनोटमा मधेशबाट एक जना पनि नपरेकोप्रति डा. यादवले गम्भीर चिन्ता व्यक्त गरे। विगतमा देशभरका पहाडी भेगसम्म गणित र अंग्रेजी पढाउन मधेशकै शिक्षक पुग्ने गरेको इतिहास स्मरण गर्दै उनले अहिलेको अवस्थाले आफूलाई दुःखी बनाएको बताए।

‘पुरस्कार वितरणमा मधेशको पालो आउँदा एक जना शिक्षक पनि छनोटमा परेनन्। आयोजकलाई सोध्दा क्राइटेरिया नै पुगेन भन्नुभयो। मलाई चसक्क लाग्यो। कुनै समय देशभरिका पहाडमा गणित र अंग्रेजी पढाउने शिक्षक मधेशबाटै जान्थे, आज त्यहाँको अवस्था क्राइटेरियामा समेत नआउने कस्तो बन्यो?,’ उनले भने।

आफ्नो डाक्टरी अध्ययनको समय स्मरण गर्दै डा. यादवले कलकत्तामा ७० को दशकको नक्सलाइट आन्दोलन र अशान्तिका बीच प्राध्यापक डा. हरिदास बनर्जीले देखाएको कर्तव्यनिष्ठाको प्रसंग सुनाए। जादवपुर विश्वविद्यालयका उपकुलपतिको हत्यापछि पूरै सहर स्तब्ध हुँदा पनि डा. बनर्जी विद्यार्थी पढाउन एनाटोमी हलमा पुगेको घटना उनले स्मरण गरे।

‘त्यतिबेला हड्ताल र हिंसाका बीच पनि कलेज आएका प्राध्यापक बनर्जीले भन्नुभएको थियो— ‘काटमार गर्नेको काम राजनीति र काटमार नै होला, तर मेरो काम भोलि मानिस बचाउने असल डाक्टर बनाउनु हो।’ शिक्षकहरू त्यस्तै हुन्। तपाईंहरू यस्तो फ्याक्ट्री हुनुहुन्छ, जसले देश, समाज र संसार बनाउने असल मनुष्य तयार गर्छ,’ उनले भने।

डा. यादवले पछिल्लो समय जलवायु परिवर्तन र मानवीय दोहनका कारण प्राकृतिक विपद् बढेको भन्दै वातावरण संरक्षणमा सचेत हुन आग्रह गरे। हाम्रा पहाडहरू भत्किँदै गइरहेको र विश्व नै वातावरणीय संकटतर्फ धकेलिएको भन्दै उनले प्रकृति र वातावरण शिक्षामा नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?