
समाचार सारांश
Auto Generated by AI
- अविरल वर्षाका कारण मुगु कर्णाली नदीमा बहाव बढेपछि रुघा बेली ब्रिज जोखिममा परेको छ।
- नगरपालिकाले सो पुलको संरचनामा असर पर्ने भन्दै सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
- यात्रु र चालकलाई उच्च सावधानी अपनाउन तथा निर्माण सम्पन्न नभएसम्म पुल प्रयोग नगर्न आग्रह गरिएको छ।
रतन बहादुर रावल मुगु, हालै केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण मुगु कर्णाली नदीको बहाव अत्यधिक बढेको छ । नदीको तीव्र कटानका कारण छायाँनाथ रारा नगरपालिका स्थित रुघा बेली ब्रिज जोखिममा परेपछि नगरपालिका ले सो पुलबाट सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
छायाँनाथ रारा नगरपालिका नगर कार्यपालिका को कार्यालयले आज एक सार्वजनिक अपिल जारी गर्दै नदीको बढ्दो बहावले बेली ब्रिजतर्फको किनारमा तीव्र कटान गरिरहेका ले पुलको संरचनामै असर पर्न सक्ने जोखिम औंल्याएको हो । कटानका कारण गमगढी–रुघा–बाम सडकखण्ड र बेली ब्रिजको पहुँच मार्गमा क्षति पुग्न सक्ने भएकाले आवतजावत गर्दा विशेष सावधानी अपनाउन नगरपालिकाले सर्वसाधारण, यात्रु, सवारी चालक तथा यातायात व्यवसायीहरूलाई आग्रह गरेको छ ।
साथै, उक्त बेली ब्रिज हाल निर्माणकै क्रममा रहेकाले निर्माण कार्य सम्पन्न नभएसम्मका लागि पुलबाट कुनै पनि प्रकारका सवारी साधन सञ्चालन नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिएको छ ।

नगरपालिकाका अनुसार सम्भावित जोखिम न्यूनीकरण तथा पुल र सडकको सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकाय, प्राविधिक टोली र सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय भइरहेको छ । नगरपालिका ले आफ्नो अमूल्य जीवनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ‘सतर्कता अपनाऔं, सुरक्षित रहौं’ भन्ने सन्देशसहित सम्पूर्ण नगरवासीलाई सजग रहन अपिल गरेको छ ।
