
- छोरीको कर्म गीतले माइती छोडेर पराइ घरमा जाँदा छोरीले भोग्नुपर्ने पीडा र संघर्षलाई भावुक रूपमा प्रस्तुत गरेको छ।
- तीज गीतमा भाइरल हुने होडबाजी चलिरहेको समयमा यस गीतले सामाजिक यथार्थ र मौलिकतालाई उजागर गरेको छ।
- वर्षका बाल कलाकार र १७ वर्षीया गायिकाको यो प्रस्तुतिले गीत मनोरञ्जन मात्र नभई समाजको आवाज बोल्ने माध्यम पनि हो भन्ने देखाएको छ।
विजय सुनार,टोकियो, जापान।तीज गीतमा मौलिकता हराउँदै गएको बहस चलिरहेका बेला १२ वर्षका दुई बालिकाको अभिनय र १७ वर्षीया गायिकाको स्वरमा आएको ‘छोरीको कर्म’ ले भने फरक सन्देश बोकेको छ ।सामाजिक सञ्जालमा ‘AR Sister ’ का रूपमा चिनिने आयुस्का भण्डारी र रेखा भण्डारी दुवै १२ वर्षका छन्। यति सानो उमेरका बालिकाले प्रस्तुत गरेको गीतमा भने छोरीको जीवन, माइती छोड्दाको पीडा र पराइ घरमा पुगेर गर्नुपर्ने संघर्षलाई भावुक रूपमा देखाइएको छ।

गीतमा “ए आमा, गाह्रो रैछ मै छोरीलाई, अर्काको घर धान्न, अर्काको मन राख्न” भन्दै छोरीले आमासँग आफ्नो मनको पीडा पोख्छिन्। त्यस्तै “बालखै थिएँ, अन्मायौ डोली, सोचिनौ आमा झन् कति रोली” जस्ता शब्दले बाल्यकालमै विवाह भएर पराइघर जानुपर्ने बाध्यता र त्यसपछि भोग्नुपर्ने दुःखलाई चित्रण गर्छन्। गीतमा छोरीले न माइतीमा आफ्नो पूर्ण अधिकार महसुस गर्न पाएकी छन्, न पराइघरमा सहज रूपमा आफ्नो ठाउँ बनाउन सकेकी छन्। सासुको बचन, मनको पीडा पोख्ने ठाउँको अभाव र माइती सम्झनुपर्ने अवस्थालाई गीतले चेलीको भावनासँग जोडेको छ।
यस गीतमा कौशिला सुनारको स्वर रहेको छ। उनी १७ वर्षकी रहेको बताइएको छ। गीतको शब्द तथा संगीत आर्यन भण्डारीको रहेको छ भने निर्देशन तथा कोरियोग्राफी पनि आर्यन भण्डारीले गरेका छन्।
पछिल्लो समय “हात्ती आयो लस लस” जस्ता हल्का शब्द, देखावटी विषय र भाइरल हुने शैलीका कारण तीज गीतको मौलिकतामाथि प्रश्न उठिरहेका बेला ‘छोरीको कर्म’ले भने चेलीको पीडा र सामाजिक यथार्थलाई गीतमार्फत प्रस्तुत गरेको छ। तीज गीतमा रमाइलो र नयाँपन आउनु स्वाभाविक हो। तर भ्युज र भाइरलको दौडमा तीजको मर्म नै हराउनु हुँदैन।
१२ वर्षका दुई बालिकाको प्रस्तुति र १७ वर्षीया कौशिला सुनारको स्वरमा आएको यो गीतले एउटा कुरा सम्झाउँछ। गीत केवल मनोरञ्जन होइन, समाजले नसुनेको आवाज सुनाउने माध्यम पनि बन्न सक्छ। ‘छोरीको कर्म’ यही कारणले अहिलेका तीज गीतबीच छुट्टै रूपमा सुन्न र हेर्न लायक बनेको छ।
