अहिले देश गम्भीर सङ्क्रमणकालबाट गुज्रिरहेको छ : बासुदेव घिमिरे

समाचार सारांश
Auto Generated by AI
  • सांसद बासुदेव घिमिरेले सरकारको अधिनायकवादी शैली र प्रेसमाथिको हस्तक्षेपको कडा विरोध गरेका छन्।
  • सरकारले सुकुम्बासीमाथि दमन गर्नुका साथै शिक्षा, स्वास्थ्य र प्रशासन क्षेत्रलाई ध्वस्त पारेको उनले आरोप लगाएका छन्।
  • उनले नेत्र ज्योति सङ्घको प्रशंसा गर्दै अपाङ्गता भएका व्यक्तिको भत्ता र सुविधामा व्यावहारिक सुधार गर्न सरकारसँग माग गरेका छन्।

काठमाडौं – राष्ट्रिय सभाका सदस्य बासुदेव घिमिरेले वर्तमान सरकारको कार्यशैलीका कारण मुलुक झनै अस्तव्यस्त र सङ्कटतर्फ धकेलेको बताएका छन् ।

Workplace

 

राष्ट्रिय सभाको विहीबारको बैठकमा सांसद घिमिरेले संविधानका पिता एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्मजयन्तीको अवसरमा श्रद्धासुमन अर्पण गर्दै आफ्ना भनाइहरू प्रस्तुत गरेका थिए ।

सम्बोधनका क्रममा उनले मिडियामाथिको हस्तक्षेप र सरकारको अधिनायकवादी शैलीप्रति कडा आपत्ति जनाए । वुधबार राति पत्रकार किशोर श्रेष्ठलाई ‘अपहरण शैली’मा पक्राउ गरिएको घटनाको निन्दा गर्दै घिमिरेले प्रेस तथा सञ्चार जगतलाई आतङ्कित पार्ने काम नगर्न सरकारलाई चेतावनी दिए ।

सरकारका उपलब्धिहरूको व्यङ्ग्यात्मक सूची प्रस्तुत गर्दै उनले सुकुम्बासीमाथि डोजर आतङ्क मचाएको, स्वास्थ्य बीमा कार्यक्रम रोकेको, किसानलाई समयमा मल र बिउ उपलब्ध गराउन नसकेको तथा युवा व्यवसायीहरूलाई पलायन हुन बाध्य पारेको जिकिर गरे ।

साथै, अघिल्ला सरकारले बनाएका संरचनाहरूको उद्घाटनमा मात्र सरकार सीमित भएको र शिक्षा, न्यायपालिका एवं निजामती प्रशासनलाई ध्वस्त पार्न उद्धत रहेको आरोप पनि उनले लगाए ।

स्वास्थ्य र सामाजिक क्षेत्रका विषयमा बोल्दै सांसद घिमिरेले नेपालमा पूर्ण सरकारी स्वामित्वका आँखा अस्पताल नभएको अवस्थामा नेपाल नेत्र ज्योति सङ्घ जस्ता गैरनाफामूलक संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । आफ्नो व्यक्तिगत अनुभव बाँड्दै उनले वि.सं. २०३४ मा आँखाको उपचारका लागि भारत जानुपरेको स्मरण गरे ।

हाल नेत्र ज्योति सङ्घले मुलुकभर २८ वटा अस्पताल र २५० वटा स्वास्थ्य केन्द्रमार्फत दृष्टिविहीनता घटाउन उल्लेख्य योगदान पुर्‍याएको भन्दै उनले यस्ता संस्थालाई सहयोग गर्न सरकारसँग माग गरे । स्वास्थ्य मन्त्रीले कोशी प्रदेशबाट सरकारी स्तरमा आँखा अस्पताल सुरु गर्ने घोषणा गरेकोमा भने उनले धन्यवाद व्यक्त गरे ।

यसैगरी, सांसद घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरण र उनीहरूले पाउने भत्तासम्बन्धी विद्यमान कार्यविधि व्यावहारिक नभएको भन्दै संशोधनको माग गरे । २०७८ को जनगणना अनुसार ६ लाख ४७ हजार ४४ जना अपाङ्गता भएका नागरिक रहेको उल्लेख गर्दै उनले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई पनि भत्ताको व्यवस्था गर्नुपर्ने र रोजगारी तथा जनप्रतिनिधि चयनमा उनीहरूका लागि विशेष कोटाको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

मुलुकको वर्तमान राजनीतिक स्थितिलाई २०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर फर्कँदाको अवस्थासँग तुलना गर्दै उनले देश गम्भीर सङ्क्रमणकालबाट गुज्रिरहेको बताए । व्यक्तिगत स्वार्थ र अहंकार त्यागेर सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै घिमिरेले सरकारलाई उद्दण्डता र अराजकता छोडेर सहमति र समझदारीको बाटोमा आउन आग्रह गरे ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?