
- मुगुको खत्याड गाउँपालिकामा एकै दिन तीन सरकारी कार्यालय (इलाका प्रशासन, नापी, मालपोत) स्थापना गरियो।
- यसबाट दुर्गम क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै नागरिकता लगायतका प्रशासनिक सेवा उपलब्ध हुनेछ।
- सेवाका लागि सदरमुकाम गमगढी जानुपर्ने बाध्यता र ठूलो खर्चबाट स्थानीयले राहत पाउनेछन्।
रतन रावल कर्णाली — मुगु जिल्लाको खत्याड गाउँपालिकामा एकै दिन तीनवटा महत्वपूर्ण सरकारी कार्यालय स्थापना गरिएको छ। स्थानीय स्तरमै प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको रामतडीमा इलाका प्रशासन कार्यालय, नापी कार्यालय तथा मालपोत कार्यालयको संयुक्त रूपमा उद्घाटन गरिएको हो।

गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, गाउँपालिका अध्यक्ष अज बहादुर शाही, सुरक्षा निकायका प्रतिनिधि, गृह मन्त्रालयका सल्लाहकार प्रमुख तथा समाजसेवी अनिल बानियाँ लगायत जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यालयहरूको उद्घाटन गरिएको हो।

यसअघि नेपाल सरकारले खत्याडमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो भने नापी र मालपोत कार्यालय स्थापनाको प्रक्रिया पनि अघि बढाइएको थियो। दुर्गम क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा नजिकबाट उपलब्ध गराउने लक्ष्यसहित ती कार्यालयहरू स्थापना गरिएको हो।
हालसम्म खत्याड गाउँपालिकाका नागरिकहरूलाई नागरिकता लगायतका अत्यावश्यक सेवाका लागि सदरमुकाम गमगढी पुग्नुपर्दा १० देखि २० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको थियो। अब पालिकामै प्रशासनिक सेवा उपलब्ध भएपछि सेवा प्रवाहमा सहजता आउने गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिनुभयो।
समाजसेवी अनिल बानियाँले पनि कार्यालय स्थापना भएपछि खत्याड मात्र नभई समग्र मुगुका नागरिकले राहत महसुस गर्ने बताउनुभयो। सडक सञ्जालसँग पूर्ण रूपमा नजोडिएको यस क्षेत्रमा अझै पनि जुम्ला हुँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको अवस्थामा स्थानीयमै सेवा उपलब्ध हुनु सकारात्मक कदम भएको उनले उल्लेख गरे।
इलाका प्रशासन कार्यालय स्थापनाका लागि लामो समयदेखि जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालाहरूको पहलपछि प्रक्रिया अघि बढेको थियो। अब नागरिकता, राष्ट्रिय परिचयपत्र, नापी तथा मालपोत सम्बन्धी सेवाका लागि गमगढी धाउनुपर्ने बाध्यता हटेको भन्दै स्थानीयहरूले खुशी व्यक्त गरेका छन्।

