
- अर्घाखाँची वन कार्यालयले डढेलो नियन्त्रणका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।
- एक मिनेटको सन्देशमूलक भिडियो चैत २५ भित्र पठाउने सहभागीलाई पुरस्कृत गरिनेछ।
- उत्कृष्ट तीन भिडियोलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
अर्घाखाँची — डिभिजन वन कार्यालय अर्घाखाँचीले डढेलो नियन्त्रणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। कार्यालयले उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कार प्रदान गर्ने जनाएको छ।

वन क्षेत्रमा हुने आगलागी नियन्त्रण र नागरिक सचेतना अभिवृद्धि गर्न एक मिनेटको सन्देशमूलक टिकटक भिडियो बनाउन आह्वान गरिएको हो। भिडियोमा डढेलो नियन्त्रण, कानुनी व्यवस्था तथा जनचेतनासम्बन्धी विषय समेट्नुपर्नेछ।
प्रतियोगितामा सहभागीले आफ्नो भिडियो फेसबुक, टिकटक वा युट्युबमा पोस्ट गरी चैत २५ भित्र इमेलमार्फत पठाउनुपर्नेछ। चैत ३० सम्म सबैभन्दा बढी भ्यूज प्राप्त गरेका तीन उत्कृष्ट भिडियो छनोट गरिनेछन्।
कार्यालयका अनुसार प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सन्देशमूलक, मौलिक तथा प्रभावकारी सामग्रीलाई प्राथमिकता दिइने जनाएको छ तपाइँ हरु पनि इच्छुक भए उत्कृष्ट टिकटक बनाइ भाग लिन सक्नुहुने छ ।
