
- काठमाडौंका नदी किनारका सुकुम्बासीलाई पाँच स्थानमा स्थानान्तरण गरिनेछ।
- वास्तविक सुकुम्बासीको डिजिटल लगत राखी नक्कलीलाई सुविधा नदिइनेछ।
- पुनर्स्थापना गरिने स्थानमा आधारभूत सुविधाको प्रबन्ध मिलाइएको छ।
काठमाडौँ। काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापनका लागि सरकारले पाँच स्थानमा होल्डिङ सेन्टर तयार गरेको छ। पहिलो चरणमा थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका अव्यवस्थित बस्ती हटाइने भएको छ।

सरकारले ती क्षेत्रका बासिन्दालाई वैकल्पिक व्यवस्थासहित स्थानान्तरण गर्ने तयारी गरेको जनाएको छ। प्रधानमन्त्री बालेन शाह का प्रेस सल्लाहकार तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रभावित परिवारलाई राख्न पाँच वटा स्थान छनोट गरिएको छ।
उनका अनुसार नागार्जुन क्षेत्रमा ४२ वटा व्यवस्थित आवास युनिट तयार पारिएको छ। यस्तै, कीर्तिपुरस्थित सत्सङको ठूलो भवनमा समेत अस्थायी आवासको व्यवस्था मिलाइएको छ।
त्यसैगरी भक्तपुर को बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी तथा चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा समेत पुनर्स्थापनाको तयारी गरिएको छ।
सरकारले वास्तविक भूमिहीन सुकुम्बासीलाई मात्र सुविधा उपलब्ध गराइने जनाएको छ। नक्कली सुकुम्बासी पहिचान भएमा कुनै विकल्प नदिइने र त्यस्ता व्यक्तिको विवरण सार्वजनिक गरिने बताइएको छ।
प्रत्येक व्यक्तिको लगत अब डिजिटल प्रणालीमा राखी विस्तृत विवरण संकलन गर्ने तयारी पनि गरिएको छ। शनिबार बिहानदेखि स्थानान्तरण गरिएका परिवारका लागि खानपानको व्यवस्था मिलाइएको जनाइएको छ।
पुनर्स्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयजस्ता आधारभूत सुविधा सुनिश्चित गर्न सरसफाइ तथा पूर्वतयारी कार्य सम्पन्न भइसकेको छ।
यसअघि निर्माण गरिएका संरचनाको सदुपयोग गर्दै न्यूनतम लागतमा सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको योजना रहेको छ।

