काठमाडौं – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२, टोक्सेलमा बिहीबार (फागुन २१) प्रत्यक्षतर्फ मतदान नै भएन ।

सरकारले विकास निर्माणमा ध्यान नदिएको भन्दै विरोधस्वरूप स्थानीयले मतदानमा भाग नलिएका हुन् ।
टोक्सेलस्थित सहिद स्मृति आधारभूत विद्यालय केन्द्रमा कुल ८०१ मतदाता छन् । तर, अपराह्न ४ बजेसम्म एकजना पनि भोट हाल्न नआएको मतदान अधिकृत परवासी राईले जानकारी दिइन् ।
उनका अनुसार, स्थानीय कोही नआएपछि मतदान व्यवस्थापनका निम्ति उपस्थित दुई पुरुष र दुई महिला कर्मचारीले समानुपातिकतर्फ मतदान गरेका छन् । “स्थानीयहरू अहिलेसम्म भोट हाल्न आउनुभएको छैन । किन आउनुभएको छैन भन्ने जानकारी हामीलाई छैन,” राईले बाह्रखरीसँग भनिन्, “स्थानीयको तर्फबाट भोट नभएपछि उपस्थित कर्मचारीहरूकै तर्फबाट दुई पुरुष र दुई महिलाको गरी चारजनाको समानुपातिकतर्फ भोट भएको छ ।”
मतदान अधिकृत राईले तोकिएको समय बेलुका ५ बजेसम्म कुरेर बस्ने बताइन् । त्यसपछि मतपेटिका ‘सिल’ गरेर केन्द्रतर्फ पठाइने उनले जानकारी दिइन् ।
