अर्घाखाँची — समाजसेवा, आध्यात्मिक मार्गदर्शन र सांस्कृतिक संरक्षणमा लामो समयदेखि क्रियाशील जिल्लाका प्रतिष्ठित व्यक्तित्व श्री नारायण प्रसाद खनालले आगामी फागुन २१ गते हुने संघीय संसदीय निर्वाचनका लागि अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

राजनीतिक जीवनमा कुनै पनि दलको सदस्यता नलिई निष्कलंक छविका साथ अघि बढ्नुभएका खनाल सामाजिक सेवामार्फत जनताको मन जित्न सफल व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१०, अर्घा धरमपानी निवासी खनाल वैदेशिक रोजगारीको सिलसिलामा लामो समय विदेशमा बसोबास गर्नुभएको थियो हाल उहाँ लामो समय देखि नेपालमै बसोबास गर्दै आउनु भएको छ साथै मेचीदेखि महाकालीसम्म रहेका नेपालीहरूको दुःख–पीडामा साथ दिँदै निरन्तर सामाजिक सेवामा सक्रिय रहनुभएको छ।
उहाँले विभिन्न संघ–संस्थामार्फत करिब २० देखि २५ हजार नेपालीलाई उद्धार, सहसहयोग र मानवीय सहायता पुर्याएको बताउनु भएको छ । सामाजिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गर्दै आउनुभएका खनाललाई राष्ट्रपति कार्यालयद्वारा प्रदान गरिने समाजसेवा पदक’ बाट समेत सम्मानित गरिएको थियो।
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवीय सेवामा दृढ विश्वास राख्ने खनाल अर्घाखाँचीमा गुरुकुल शिक्षा, गौशाला सञ्चालन तथा संरक्षण, धर्म–संस्कृति जगेर्नासम्बन्धी विभिन्न अभियानमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ।नेपाल खोजखबरको संवादमा उहाँ भ्रष्टाचाररहित शासन व्यवस्था, पारदर्शी प्रशासन र इमानदार नेतृत्वमार्फत जिल्लाको विकास र समृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ।
मौलिक धर्म, भाषा, संस्कृति र सभ्यताको संरक्षण नै समृद्ध नेपालको आधार हो भन्ने विश्वासका साथ खनालले जनमुखी, उत्तरदायी र स्वतन्त्र राजनीतिक अभ्यासको आवश्यकता औंल्याउँदै मतदातासामु आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको नेपाल खोजखबर ड्टकम लाई बताउनु भएको छ ।
आफ्नो जिल्लाबाट बाहिरी व्यक्तिलाई ल्याएर निर्वाचन लडाउने चर्चा चलिरहेका बेला जिल्लावासीकै नेतृत्व स्थापित हुनुपर्छ भन्ने उद्देश्य पनि रहेको उनले बताएका छन्। जिल्लाको समस्या, आवश्यकता र जनभावना राम्ररी बुझ्ने नेतृत्व जिल्लामै हुर्किएको र जिल्लाप्रति उत्तरदायी व्यक्तिबाटै सम्भव हुने विश्वास व्यक्त गर्दै उनले यही मान्यताका आधारमा आफू अघि बढेको स्पष्ट पारेका छन्।
जेन्जी आन्दोलन पोछिको वर्तमान राजनीतिक परिवेशमा स्वतन्त्र र वैकल्पिक नेतृत्वको खोजी भइरहेका बेला नारायण प्रसाद खनालको उम्मेदवारीले अर्घाखाँचीको राजनीतिमा ठुलो चर्चा पाएको छ र बहस ऊर्जा थपेको जनस्तरमा प्रतिक्रिया आएको छ।

