वैकुण्ठ चतुर्दशी आज: हरि–हर मिलन दिवस, स्नान–दान र जपले प्राप्त हुन्छ पुण्य

Workplace

काठमाडौँ । आज देशभर वैकुण्ठ चतुर्दशी पर्व भक्तिभावपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्वलाई हरि–हर (विष्णु र शिव) मिलनको प्रतीक दिवसका रूपमा श्रद्धा र उत्साहका साथ मनाउने परम्परा रहिआएको छ।

वैकुण्ठ चतुर्दशीका दिन बिहानै नदी वा तीर्थमा स्नान गरी भगवान् विष्णु र भगवान् शिवको पूजा–आराधना गर्ने चलन छ। यस दिन स्नान, दान, जप र ध्यान गरे पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। भक्तजनहरूले रातभर जाग्राम बसेर विष्णु भगवान्‌को नामस्मरण गर्ने परम्परा पनि छ।

पण्डित बालमुकुन्द देवकोटाका अनुसार भगवान् विष्णुका नामहरूमध्ये ‘वैकुण्ठ’ एक महत्वपूर्ण नाम हो। “कुण्ठा अर्थात् दुःख र अज्ञान नभएको स्थान नै वैकुण्ठ हो, जहाँ शान्ति, ज्ञान र मुक्ति प्राप्त हुन्छ,” उहाँले बताउनुभयो।

महाभारतको शान्तिपर्वमा धर्मराज युधिष्ठिरले भीष्मसित वैकुण्ठ चतुर्दशीको महत्वबारे सोध्दा, भीष्मले भगवान् विष्णुको स्तुति गर्ने व्यक्ति सम्पूर्ण दुःख र बाधाबाट मुक्त हुने बताएका छन्। यसै दिनदेखि ‘भीष्मपञ्चक’ व्रत सुरु हुने धार्मिक मान्यता छ।

काठमाडौँ उपत्यकामा बूढानीलकण्ठ, विष्णुमती र गोकर्ण क्षेत्रमा विशेष श्रद्धा र पूजाको माहोल देखिएको छ। विष्णुपादुकाबाट उत्पन्न विष्णुमती नदी, गण्डकी र दामोदर कुण्डलाई यस पर्वसँग जोडिएको पौराणिक विश्वास छ।

धार्मिक परम्पराअनुसार, हरिशयनी एकादशीका दिन क्षीरसागरमा विश्राम लिनुभएका भगवान् विष्णुले आफ्नो कार्यभार भगवान् शिवलाई दिनुभएको थियो। आजको दिन, अर्थात् वैकुण्ठ चतुर्दशीमा, भगवान् शिवले त्यो जिम्मेवारी पुनः विष्णुलाई हस्तान्तरण गरी कैलाश पर्वत फर्कनुहुने विश्वास रहिआएको छ।

यस अर्थमा आजको दिनलाई हरि र हरको पुनर्मिलन, धर्म र ज्ञानको संगम, र मानव आत्माको उन्नतिको प्रतीक दिवसका रूपमा मनाइन्छ। भक्तजनहरूले स्नान, दान, जप र विष्णु नामको उच्चारण गरेर मोक्ष र शान्तिको कामना गर्दछन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?