काठमाडौं, १९ असार । लोकप्रिय गायिका एलिना चौहानबारे सामाजिक सञ्जालमार्फत अमर्यादित र आपत्तिजनक टिप्पणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराध नियन्त्रणका लागि खटिएको प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेका युवकलाई ललितपुरबाट पक्राउ गरेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका छ्न ।
गायिका चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको चरित्रहत्या, अश्लील तथा अमर्यादित टिप्पणीबारे साइबर ब्युरोमा उजुरी दर्ता गरेकी थिइन् । उनले चार जनाविरुद्ध उजुरी दिएकी थिइन्, जसमा केही व्यक्ति विदेशमा रहेका खुलेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका राईमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ भने बाँकी अभियुक्तको पहिचान र खोजी कार्य पनि जारी रहेको साइबर ब्युरोले जनाएको छ ।
यसैबीच, ब्युरोले एलिना चौहानलाई पनि आवश्यक बयानका लागि कार्यालयमा बोलाएको छ । बयानपछि घटनाको थप पृष्ठभूमि र संलग्न व्यक्तिहरूको अवस्थाबारे प्रष्ट हुने प्रहरीले जनाएको छ ।
हालै एलिनाले सार्वजनिक कार्यक्रममा समेत आफूविरुद्ध भइरहेको साइबर आक्रमणबारे चिन्ता व्यक्त गर्दै कानुनी कारबाहीको माग गरेकी थिइन् । गायन यात्राका क्रममा उनले सामाजिक सञ्जालमा प्राप्त गालीगलौज र अनलाइन हिंसाबाट आफू मानसिक रुपमा प्रभावित भएको बताउँदै न्यायको खोजीमा प्रहरीकहाँ पुगेकी हुन् ।
सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादित भाषा र आचरण अपनाउन प्रहरीको आग्रह रहेको छ । यस्ता अपराधमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने ब्युरोले जनाएको छ ।
