रतन बहादुर रावल मुगु-काठमाडौँको थानकोटमा आगामी २०८३ कार्तिक १४ गते शनिबार ऐतिहासिक क्रशकन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता २४ वर्षअघिको ऐतिहासिक दौडकै निरन्तरता र स्मरणको रूपमा आयोजना हुन लागेको हो, जसमा मुगुका प्रख्यात धावक अक्कल बहादुर बोहरा पहिलो पटक प्रथम हुनुभएको थियो।

चित्लाङमा फिनिसिङ, १० माइलको दूरी
यस पटकको प्रतियोगिता विगतभन्दा थप रोमाञ्चक र पर्यटकीय महत्वको हुने आयोजकले जनाएका छन्। चन्द्रागिरि डाँडाको मनोरम वातावरण हुँदै धावकहरू अगाडि बढ्नेछन्। प्रतियोगिताको अन्तिम गन्तव्य (फिनिसिङ प्वाइन्ट) चन्द्रागिरि डाँडाको पछाडि रहेको मकवानपुरको प्रसिद्ध पर्यटकीय स्थल चित्लाङ तय गरिएको छ। प्रतियोगिताको कुल दूरी १० माइल रहनेछ।

विजेता बोहराद्वारा २० हजार सहयोगको घोषणा
करिब २४ वर्षपहिले यसै स्थानबाट भएको दौड जितेर आफ्नो खेल जीवनलाई उचाइमा पुर्याउनुभएका कीर्तिमानी धावक अक्कल बहादुर बोहराले यस खेलको स्मरण गर्दै खुसी व्यक्त गर्नुभएको छ। आफूलाई खेल क्षेत्रमा अगाडि बढाउन यही प्रतियोगिताले जग बसालेको स्मरण गर्दै उहाँले खेल र खेलाडीको हौसला बढाउन २० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।विगतको खेल इतिहासलाई जीवन्त राख्दै प्राकृतिक र पर्यटकीय मार्गमा आयोजना हुन लागेको यस दौड प्रतियोगिताले नेपाली एथलेटिक्स र आन्तरिक पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ।
