
- सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सुरक्षासम्बन्धी गोप्य सूचना चुहाएको आरोपमा निलम्बनमा परेका छन्।
- गृह मन्त्रालयले पदीय आचरणविपरीत काम गरेको भन्दै उनीमाथि छानबिन प्रक्रिया अघि बढाएको छ।
- तोकिएका जाँचबुझ अधिकृतलाई तीन दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
काठमाडौ – सरकारले सुरक्षा निकायसँग सम्बन्धित संवेदनशील तथा गोप्य सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।गृह मन्त्रालयले पदीय आचरणविपरीत कार्य गरेको आरोपमा दाहाललाई निलम्बन गर्दै घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण र कानुनअनुसारको जिम्मेवारी पूरा नगरेको देखिएपछि दाहाललाई निलम्बन गरिएको उल्लेख छ।
एआईजी दाहालले राष्ट्रिय सुरक्षा तथा संगठनसँग सम्बन्धित संवेदनशील गोप्य सूचनाहरू बाहिर पठाएको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

उक्त सिफारिसका आधारमा सोमबार बसेको गृह मन्त्रालयको बैठकले घटनाको विस्तृत छानबिनका लागि जाँचबुझ अधिकृत तोक्ने निर्णय गरेको छ। तोकिएका अधिकृतलाई तीन दिनभित्र छानबिन पूरा गरी मन्त्रालयमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय तथा निजामती कर्मचारीबाट हुन सक्ने पदीय आचरणविपरीतका गतिविधि, सूचना चुहावट तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधिमाथि निगरानी र विश्लेषण भइरहेको जनाएको छ। मन्त्रालयले कानुनविपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकै भए पनि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ।

