
- अर्घाखाँचीमा सुनको सिक्री चोरी गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
- प्रहरीले भाग्दै गरेका उनीहरूलाई कार र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका व्यक्तिहरूमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पूजा शर्मा अर्घाखाँची – अर्घाखाँची प्रहरीले सुनको गरगहना चोरीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका–१ बसपार्कस्थित होटलमा मानिसको घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेको सूचनाका आधारमा प्रहरीले खोजतलास थालेको थियो। सोही क्रममा प्रहरीले बा १५ च २२३३ नम्बरको कारमा ४ जना तथा मधेश प्रदेश ०३–०३४ प २५० नम्बरको मोटरसाइकलमा २ जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकामध्ये बारा जीतपुर सिमरा उपमहानगरपालिका–६ का २२ वर्षीय सन्दिप चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–२० का ३४ वर्षीय राजकुमार राय, बारा बारागढी गाउँपालिका–३ का ३२ वर्षीय राजु प्रसाद साह, सोही स्थानका ४४ वर्षीय विरेन्द्र राय, पर्सा वीरगञ्ज–२० का २८ वर्षीय खुबु राय सिंह पाण्डे, सोही स्थानका २१ वर्षीय विराजु राय, पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का २० वर्षीय अभिन्द्र राय तथा भारत बिहार प्रदेश आनन्दसागर पिपरहिया निवासी १५ वर्षीय बालक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
