नयाँ दिल्ली – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको औपचारिक घोषणा गरेका छन्। ३८ वर्षीय शर्माले सामाजिक सञ्जालमार्फत् आफ्नो निर्णय सार्वजनिक गर्दै टेस्ट खेलबाट अब विदा लिने बताएका हुन्।

उनले लेखेका छन्, “टेस्ट क्रिकेटमा भारतको प्रतिनिधित्व गर्नु मेरो लागि गौरवको कुरा हो। यो यात्रामा पाएको मायाको लागि सबैलाई धन्यवाद।”
सन् २०१३ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका रोहितले आफ्नो करियरमा ६७ टेस्ट खेल्दै ४३०१ रन बनाएका छन्। उनले १२ शतक र १८ अर्धशतकको मद्दतले ४०.५७ को औसत कायम गरेका छन्। कप्तानका रूपमा उनले २४ खेलमा नेतृत्व गरे, जसमा १२ जित हासिल गरेका थिए।
अब भारतीय क्रिकेट बोर्ड (BCCI) नयाँ टेस्ट कप्तानको खोजीमा लाग्ने छ । सम्भावित प्रतिस्पर्धीको सूचीमा शुभमन गिल, केएल राहुल, ऋषभ पन्त र जसप्रीत बुमराहको नाम अग्रपंक्तिमा रहेको अनुमान गरिएको छ।
