
- पूर्वी जापानमा मंगलबार बिहान ४.९ म्याग्निच्युडको भूकम्प गएको छ।
- इबाराकी र सैतामासहित टोकियोका आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ।
- भूकम्पबाट सुनामीको खतरा छैन र आणविक केन्द्र पनि सुरक्षित रहेको छ।
पूर्वी जापानमा ४.९ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ।

स्थानीय समयअनुसार मंगलबार बिहान ४:४५ बजे गएको भूकम्पका कारण इबाराकी र सैतामा प्रिफेक्चरका केही क्षेत्रमा ४ तहसम्मको कम्पन महसुस गरिएको थियो। टोकियोसहित आसपासका क्षेत्रमा पनि १ देखि ३ तहसम्मको कम्पन महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पपछि सुनामीको खतरा नरहेको बताइएको छ। इबाराकीमा रहेको टोकाई नम्बर २ आणविक ऊर्जा केन्द्रमा पनि कुनै असामान्यता नदेखिएको जापान एटोमिक पावर कम्पनीले जनाएको छ।
भूकम्पको केन्द्र इबाराकी प्रिफेक्चरको दक्षिणी भागबाट करिब ५० किलोमिटर गहिराइमा रहेको बताइएको छ।

