
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको ठुलो परिमाणको चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद भएको छ।
- एक्सरे जाँचका क्रममा फेला परेका ती अवैध वस्तुहरूलाई आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
- विमानस्थलको सुरक्षा व्यवस्था थप चुस्त पार्दै यस्ता अवैध निकासी नियन्त्रणका लागि नियमित निगरानी बढाइने प्रहरीले जनाएको छ।
काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।

विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि अनुसन्धान गरिँदा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेलापरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, शिखर, सूर्य, क्याप्टेन, पाइलोट र खुकुरी ब्रान्डका ७२ बन्डल अर्थात् ७२० प्याकेट चुरोट तथा जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट ब्रान्डका ६९ पोका सुर्तीजन्य पदार्थ बरामद गरिएको छ।
बरामद गरिएका ती चुरोट तथा सुर्तीजन्य पदार्थलगायतका बस्तु आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जानकारी दिइएको छ।
विमानस्थलको सुरक्षा व्यवस्थालाई थप चुस्त तुल्याउँदै अवैधवस्तुको ओसारपसार तथा निकासी नियन्त्रणका लागि नियमित तथा सघन सुरक्षा जाँचलाई निरन्तरता दिइने प्रवक्ता सिलवालले बताए।
