
- सांसद अमरेशकुमार सिंहले छठ पर्वलगत्तै मेची-महाकाली पदयात्रा सुरु गर्ने घोषणा गर्नुभएको छ।
- जनकपुरबाट सुरु हुने यस यात्राको उद्देश्य जनताको समस्या सुन्दै समाजलाई जोड्नु रहेको छ।
- यात्राका क्रममा उहाँले मधेशको शिक्षा, स्वास्थ्य र विकासका आधारभूत आवश्यकता बुझ्ने बताउनुभएको छ।
काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले छठ पर्वलगत्तै मेची-महाकाली पदयात्रा सुरु गर्ने घोषणा गर्नुभएकाे छ ।

जनकपुरधामबाट सुरु हुने पदयात्रालाई उहाँले मधेशलाई नजिकबाट बुझ्ने र समाजलाई जोड्ने अभियानका रूपमा अघि बढाउने बताउनु भयाे ।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सिंहले छठको पारनका दिन गंगासागरमा अर्घ्य दिएपछि पदयात्रा सुरु गर्ने जानकारी दिनुभयो ।
उहाँकाअनुसार जनकपुरधामबाट गाग्रोमा माटो र पानी लिएर सुरु हुने पदयात्रा माघेसंक्रान्तिका दिन महाकाली नदीमा जौ-तिल विसर्जन गरेर टुंग्याइनेछ ।
सिंहले पदयात्राको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्नु रहेको बताउनुभयाे ।
आफूले यात्राका क्रममा कम बोल्ने र जनताको कुरा बढी सुन्ने उहाँको भनाइ छ ।
दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा जनताको कुरा सुन्ने योजना सुनाउँदै उहाँले पदयात्रालाई जनताका समस्या, अपेक्षा र सुझाव बुझ्ने माध्यमका रूपमा अघि बढाउने बताउनुभयाे ।
सिंहले आफ्नो पदयात्राको मूल सन्देश ‘समाज जोड्नुपर्छ’ रहेको बताउनुभयाे । राजनीति समाजलाई विभाजित गर्न नभई जोड्न र देशको समृद्धिका लागि काम गर्नुपर्ने उहाँको धारणा छ ।
उहाँले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइ गरी ‘६ वटा स’ मा परिवर्तन आवश्यक रहेको पनि बताउनुभयाे ।
पदयात्राका क्रममा यी विषयसँगै जनताका दैनिक समस्या र स्थानीय आवश्यकता बुझ्ने उहाँको भनाइ छ ।
