
- नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत शनिबारदेखि देशभर वडा अधिवेशन सुरु हुँदैछ।
- वडा अधिवेशनले सभापतिसहितका पदाधिकारी र कार्यसमितिका सदस्यहरू प्रत्यक्ष तथा मनोनीत विधिबाट चयन गर्नेछ।
- अधिवेशनले क्षेत्रीय प्रतिनिधिको समेत छनोट गर्ने र यसपटक सभापतिको उम्मेदवारका लागि कुनै विशेष योग्यता तोकिएको छैन।
काठमाडौं।नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि स्थानीय अनुकूलताअनुसार वडा अधिवेशनहरू सुरु हुँदैछन्। विसं २०८३ को निर्वाचन निर्देशिका र परिमार्जित विधान अनुसार सुरु हुन गइरहेको यस अधिवेशनमा विसं २०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यहरूले भाग लिनेछन्।

सभापति गगन थापाले उत्साहका साथ अधिवेशनमा सहभागी हुन आह्वान गरिसकेका छन्। वडा अधिवेशनले एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्नेछ भने निर्वाचित वडा सभापतिले कार्यसमितिबाट एक कोषाध्यक्ष मनोनीत गर्नेछन्।
स्थानीय तहको स्वरूपअनुसार गाउँपालिका वडाबाट ७ जना, नगर तथा उपमहानगर वडाबाट ८ जना र महानगरपालिका वडाबाट ११ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्। यसका अलावा समावेशी सिद्धान्त र एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी वडा सभापतिले गाउँमा ५, नगर/उपमहानगरमा ६ र महानगरमा ७ जना सदस्य मनोनीत गर्न पाउने वैधानिक व्यवस्था छ।
वडा अधिवेशनबाटै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाबाट कम्तीमा तीन महिला, एक श्रमिक/पेसागत र ३० वर्ष मुनिका ३ युवासहित ९ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।
१५० भन्दा बढी क्रियाशील सदस्य भएमा प्रति १५० थप सदस्य बराबर बढीमा ५५ को सीमाभित्र रही ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने प्रावधान छ। साथै, जनसंख्याको बनोटअनुसार ५० प्रतिशत समानुपातिक प्रतिनिधित्व तथा अपाङ्गता भएका र दलित क्रियाशील सदस्यबाट एक/एक जना प्रतिनिधि निर्वाचित हुनेछन् भने वडा सभापति स्वतः पदेन क्षेत्रीय प्रतिनिधि हुनेछन्।
नयाँ वैधानिक व्यवस्था अनुसार वडा सभापति, पालिका सभापति, जिल्ला सभापति र केन्द्रीय सभापतिको उम्मेदवारीका लागि विधानमा कुनै विशिष्ट योग्यता तोकिएको छैन। यद्यपि, १५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ ले अन्य पदहरूका लागि योग्यता निर्धारण गरेको छ।
