काठमाडौं – त्रिभुवन विश्वविद्यालयबाट जारी भएको नक्कली स्नातक र स्नातकोत्तर प्रमाणपत्रहरू सहित काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-५ का ४८ वर्षीय विकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले प्राप्त गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा श्रेष्ठको साथमा भएको ‘ब्याचलर डिग्री इन बिजनेस स्टडिज’ र ‘मास्टर डिग्री इन बिजनेस स्टडिज’ को प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयको अभिलेखसँग मेल नखाएको पुष्टि भएको प्रहरीले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, परीक्षा प्रशासन महाशाखाले ती प्रमाणपत्र नक्कली भएको औपचारिक जानकारी दिएपछि प्रहरीले उनलाई धुलिखेलबाट नियन्त्रणमा लिएको जनाएको छ ।
श्रेष्ठलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। नक्कली शैक्षिक प्रमाणपत्रका घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको प्रहरीले नेपाल खोज खबरलाई जानकारी दिएको छ ।
