
- नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि मुगु जिल्ला संयोजकमा कर्ण रावल मनोनित भएका छन्।
- पार्टीको वैधानिक संकट चिर्दै आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको छ।
- महाधिवेशनका लागि असोज १५ गतेदेखि वडा स्तरबाट अधिवेशन सुरु भई विभिन्न तहका निर्वाचन तालिका सार्वजनिक गरिएको छ।
रतन बहादुर रावल मुगु- मुगु जिल्ला बाट नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले मुगु जिल्लाको संयोजकमा छायाँनाथ रारा नगरपालिका वडा नं ८ का कर्ण रावल लाइ मनोनित गरेको छ। तयारी समितिका संयोजक डा. शशांक कोइराला ले रावल लाई पत्र पठाउँदै जिल्ला संयोजकको जिम्मेवारी सुम्पिएका हुन्।जिल्लाका नेता–कार्यकर्ताको राय सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा रावललाई यो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। कांग्रेसको स्थापित मूल्यमान्यतालाई आत्मसात गर्दै मुगुमा पार्टी संगठनलाई थप मजबुत बनाउन रावल ले भूमिका खेल्ने विश्वास तयारी समितिले लिएको छ।

आन्तरिक विवाद र वैधानिक संकट
संयोजक कोइरालाद्वारा जारी पत्रमा पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी मुद्दा हाल सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ। पार्टी विधान बमोजिम केन्द्रीय कार्यसमितिको पदावधि यही मंसिर मसान्तमा र नेपालको संविधान अनुसार थप गरिएको ६ महिनाको अवधि पनि समाप्त हुन लागेको भन्दै पत्रमा वैधानिक संकटप्रति ध्यानाकर्षण गराइएको छ।

सर्वोच्च अदालतले विगतका सिद्धान्त र अभ्यासका आधारमा चाँडै न्यायपूर्ण फैसला गर्ने विश्वास व्यक्त गर्दै पत्रमा भनिएको छ, “कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि गर्न लागेकाले चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले नै १५ औं महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व आएको हो।”
आवेग, उत्तेजना र षड्यन्त्रका बाट नभई संयमता र आत्मीयताका साथ सबै लोकतन्त्रवादीहरूको साथ लिएर कांग्रेसलाई पुनः सबै तहमा सबल, सक्षम र लोकप्रिय पार्टी बनाउने दृढता पत्रमा व्यक्त गरिएको छ। २०८४ वैशाखमा हुने स्थानीय तह र करिब एक वर्षपछि हुने प्रदेश सभा निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले संगठन निर्माणलाई तीव्रता दिएको हो।
मंसिरमा १५ औं महाधिवेशन, असोज १५ देखि वडा अधिवेशन
गत साउन २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेलाको निर्देशन बमोजिम भदौ १७ र १८ गते बसेको तयारी समितिको बैठकले १५ औं केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ।
महाधिवेशनका लागि घोषित तल्लो तहका अधिवेशनको कार्यतालिका यस्तो छ:
वडा अधिवेशन: असोज १५ गते
पालिका अधिवेशन: असोज २० गते
प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन: असोज २३ गते
जिल्ला अधिवेशन: कात्तिक १५ गते
प्रदेश अधिवेशन: मंसिर ४ गते
