
- नेपाली महिलाले भोलिको तीज व्रतका लागि आज राति दर खाएर पर्वको सुरुवात गर्दैछन्।
- माइती र दाजुभाइले दिदीबहिनीलाई बोलाएर शुद्ध र आडिलो परिकार खुवाउने परम्परा छ।
- तीजको महत्त्व बढ्दै गएकाले अहिले यो पर्व नेपाल बाहिर भारतमा पनि मनाउन थालिएको छ।
काठमाडौं।हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद् प्रा. तोयराज नेपालको छ।
विगत वर्षमा नेपालमा मात्र मनाइने तीजपर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ। तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ।
नीराहार व्रतको अघिल्लो दिन दरको संस्कृति
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि तयारी गर्छन्।
विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल बताउँछन्।
