आज दिनभरका मुख्य समचार

समाचार सारांश
Auto Generated by AI
  • इरान र अमेरिकाबीच बढेको तनावका कारण विश्व बजारमा तेलको मूल्य वृद्धि हुनुका साथै सेयर बजार प्रभावित भएको छ।
  • रसुवाको भोटेकोशी बाढीमा परी एक हजार १२७ जनाको मृत्यु भएको छ भने हजारौं बेपत्ता र घाइते भएका छन्।
  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम बढेकाले स्वास्थ्य सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समचार

Workplace

१.इरानसँगको द्वन्द्वमा एक महिनाभन्दा बढी समयसम्म उल्लेखनीय भीडन्त नभए पनि पुनः हिंसा भड्किएपछि भविष्यलाई लिएर अनिश्चितता बढेको छ । यसको प्रभाव विश्व बजारमा परेको छ । मङ्गलबार तेलको मूल्य करिब दुई प्रतिशतले बढ्दा विश्वभरका सेयर बजारमा गिरावट आएको छ ।अनलाइन ‘फास्ट फेसन’ खुद्रा विक्रेता ‘शिन’को सेयर मङ्गलबार हङकङमा कारोबार सुरु भएलगत्तै १० प्रतिशतसम्म घटेको थियो । कारोबार बन्द हुँदा यसको मूल्य चार प्रतिशतले घटेको थियो ।ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतले बढेर प्रतिब्यारेल ९२ दशमलव ३५ अमेरिकी डलर पुगेको छ । आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य दुई दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री सुरुङ बम (माइन) बिछ्याउने तयारी भइरहेको दाबी गरेको थियो ।

त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाइएको छ ।द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमन सीमित भएको छ । विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने गरेको छ । द्वन्द्व सुरु भएयता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ८७ दशमलव ८४ डलर पुगेको छ ।युरोपेली बजारको प्रारम्भिक कारोबारमा जर्मनीको ड्याक्स सूचकाङ्क एक दशमलव एक प्रतिशतले घटेर २५,९८२ दशमलव २८ मा झरेको छ । पेरिसको क्याक ४० सूचकाङ्क शून्य दशमलव चार प्रतिशतले घटेर ८,३०३ दशमलव ६५ मा सीमित भएको छ । बेलायतको एफटीएसई १०० सूचकाङ्क पनि एक दशमलव एक प्रतिशतले घटेर १०,७०२ दशमलव २५ मा आएको छ ।

२. रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा मृतक संख्या एक हजार १२७ पुगेको छ।नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म फेला परेका शव तथा आंशिक अंगमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला, ३९७ पुरुष र ४२७ आंशिक अंग रहेका छन्। फेला परेका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।यसैगरी, पहिचान नभएका ९११ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। हालसम्म ९५ वटा शव हस्तान्तरण गरिएको छ भने जाँच मुचुल्काको संख्या एक हजार ११३ पुगेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार चार हजार ८५८ जना सम्पर्कविहीन छन्। घाइते तथा उद्धार गरिएका व्यक्तिको कुल संख्या छ हजार ५४१ रहेको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये ५८० जना विदेशी नागरिक समेत रहेका छन्। 

३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानलाई कुनै पनि वार्ताको टेबलमा ल्याउने प्रयासमा नरहेको बताएका छन् । मंगलबार राति ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत आफूलाई इरानसँग सम्झौता गर्न कुनै चासो नरहेको बताएका हुन् । उनले पोस्ट गर्नुअघि एबीसी न्यूजले ट्रम्प प्रशासनले इरानलाई वार्ताका लागि बाध्य पार्ने प्रयास गरिरहेको उल्लेख गरेको थियो ।ट्रम्पले लेखेका छन्, ‘एबीसीले दिएको रिपोर्ट फेक न्युज हो। म इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको छैन। मलाई अहिलेको अवस्था नै बढी मन परेको छ, जहाँ होर्मुज जलडमरूमध्यमा हाम्रो लगभग पूर्ण नियन्त्रण छ र इरानको अर्थतन्त्र पूर्ण रूपमा धराशायी हुँदैछ। उनीहरू केवल टार्न नसकिने प्रक्रियालाई ढिलाइ गरिरहेका छन्।’उनल अन्तिममा इरानका जनताले आवाज उठाउने र आफ्नो अधिकारका लागि लड्ने बताएका छन् । यी टिप्पणी गर्नुभन्दा केही घण्टाअघि ट्रम्पले होर्मुज जलडमरूमध्य नजिक इरानका अखडाहरूमा अमेरिकाले गरेको नयाँ हमलालाई सही ठहराएका थिए। उनले इरानले जवाफी कारबाही गरे अमेरिकाले त्योभन्दा पनि कडा हमला गर्ने चेतावनी दिएका थिए।इरानले अमेरिकाले विवाह समारोह भइरहेको र सर्वसाधारण नागरिकहरू उपस्थित रहेको स्थानलाई निशाना बनाएको जनाएको छ। अमेरिकी हमलामा ५ जनाको मृत्यु भएको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार उक्त हमलामा ६० जनाभन्दा बढी घाइते भएका छन्

४. काठमाडौ -बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह गरेका छन् ।रसुवाको भोटेकोशीमा बाढी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन् ।  स्वास्थ्यविद् डा. सागर राजभण्डारीका अनुसार बाढीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ्छ । बाढीपछि हैजा, झाडापखाला, टाइफाइड र कमलपित्तजस्ता रोग देखिन सक्छन् । प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुनेलगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।  समयमै उपचार नपाए हैजाजस्ता रोगको प्रकोप फैलिन सक्ने उहाँको भनाइ छ । लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य कीराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिम पनि बढ्न सक्छ। बाढीका कारण धेरै मानिस घरबारविहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुघाखोकीलगायतका संक्रामक रोगसमेत छिटो फैलिन सक्ने विज्ञहरूको भनाइ छ ।सरसफाइ र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । त्यस्तै, राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ ।बाढी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल, गेडागुडी, कोदो, गहुँलगायत पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डा। राजभण्डारीले सुझाव दिनुभएको छ । बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकमा बाढी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।महामारी फैलिन नदिन बाढीका कारण थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीवजन्तुको उचित व्यवस्थापन तथा सरसफाइ तत्काल गर्न विज्ञको सुझाव छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या, पानी तथा खाद्यजन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीयस्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।महामारी फैलिन नदिन नागरिक आफैँ पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वडा वा पालिकासँग सहयोग माग्न स्वास्थ्यविद्हरूले आग्रह गरेका छन।

५. काठमाडौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता र पृष्ठभूमिमाथि प्रश्न उठाएका छन्।सामाजिक सञ्जालमार्फत उनले विद्यालयहरूमा शाखा र ५२ जिल्लामा सञ्जाल रहेको दाबी गरिएको यो संस्थाको संचालन स्रोत के हो भनेर उनले चासो व्यक्त गरेका हुन्। महासचिव पोखरेलले यो संगठनलाई नेपाली सेनाले तालिम दिएको दाबीसहित तस्बिरहरू सार्वजनिक भएको उल्लेख गर्दै भनेका छन्, ‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने कुरा त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ बनाउन थालिएको हो? यदि होइन भने, सेनाजस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो? सरकारले यस विषयमा स्पष्ट पार्नुपर्छ।’यो संगठन विपद् उद्धारका लागि भनिए पनि मुलुक महाविपद् र उच्च जोखिममा पर्दा यो कहाँ लुकेर बसेको थियो भन्ने प्रश्नसमेत उनले गरेका छन्। जोखिम घटेको बेला एक सातापछि अचानक चटक देखाउने शैलीमा यो मैदानमा उत्रिएको भन्दै उनले यस्ता गतिविधिले समाजमा राहतभन्दा बढी सन्देह र त्रास मात्र फैलाउने बताएका छन्। साथै, यस विषयमा सम्बन्धित निकायको ध्यान तुरुन्तै जानुपर्नेमा उनले जोड दिएका छन्।यस्तो छ उनको फेसबुक स्टाटस

‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता र पृष्ठभूमि के हो?विद्यालय-विद्यालयमा शाखा र ५२ जिल्लामा सञ्जाल दाबी गरिएको यो कस्तो संगठन हो? यसको संचालनका लागि आम्दानीको श्रोत के हो ? यसलाई नेपाली सेनाले तालिम दिएको दाबीसहित तस्बिरहरू सार्वजनिक भएका छन्। नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल (एनसीसी) गठन गर्ने त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ बनाउन थालिएको हो?

यदि होइन भने, सेना जस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो? सरकारले यस विषयमा स्पष्ट पार्नुपर्छ।

यो संगठन विपद्को उद्धारका लागि भनिए पनि मुलुक महाविपद् र उच्च जोखिममा पर्दा यो कहाँ लुकेर बसेको थियो? जब जोखिम घटेको छ, तब एक सातापछि अचानक चटक देखाउने शैलीमा यो मैदानमा उत्रिएको छ। यस्ता गतिविधिले समाजमा राहतभन्दा बढी सन्देह र त्रास मात्र फैलाउँछन्। यसमा सम्बन्धित निकायको ध्यान तुरुन्तै जानुपर्छ

६. नेपाली बजारमा पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य बुधबार ह्वात्तै घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेको छ।मूल्यमा आएको यस भारी गिरावटसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै सोमबार तोलामा २ हजार ४०० रुपैयाँले घट्दै ३ लाख ६ हजार ६०० रुपैयाँमा झरेको सुनको मूल्य आइतबार पनि तोलामा ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो।सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

मङ्गलबार तोलामा १५ रुपैयाँले घटेर चाँदी ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार र आइतबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

७. काठमाडौ -नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ ।केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५ रुपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ १७ पैसा बिक्रीदर ४०३ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४० पैसा रहेको छ ।भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

८. प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीपछि सुरूङभित्र फसेका नागरिकको उद्धारमा सरकारले ढिलाइ गरेको बताएका छन्।प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री बालेन शाहको सम्बोधनपछि बोल्दै उनले सरकारी ढिलासुस्ती र असंवेदनशीलताका कारण सुरूङभित्र भएको क्षति मृत्यु कि हत्या ? भनी प्रश्न उठाए।सुरूङ उद्धारमा पहिलो ७२ घण्टा ‘गोल्डेन आवर’ मानिने भए पनि सरकारले निजी र अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन ढिलाइ गर्दा थप मानवीय क्षति भएको आङ्देम्बेको आरोप छ। सरकारले समयमै विज्ञहरूको कुरा नसुनेको र सात दिनपछि मात्रै आफैं खोज भनेर गैरजिम्मेवार बनेको उनले बताए।सरकार विपद्को बेला उद्धारभन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाउँदै उनले मन्त्रीहरू फिल्डमा काम गर्नुको साटो सामाजिक सञ्जालमा फोटो देखाउन व्यस्त रहेको टिप्पणी गरे।उनले भने, ‘सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा र हल्लामा धेरै अल्झियो।’ पीडित परिवारले आफ्न्त खोज्दा उल्टै धम्की र दुर्व्यवहार खेप्नुपरेको भन्दै उनले सरकारको शैलीप्रति आक्रोश पोखे।आङ्देम्बेले हाल ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको तथ्याङ्क प्रस्तुत गर्दै तहगत सरकारहरूबीच समन्वयको चरम अभाव देखिएको उल्लेख गरे। संघले नेतृत्व गरेर प्रदेश र स्थानीय तहलाई परिचालन गर्नुपर्नेमा मन्त्री र दलीय संरचनाको समानान्तर गतिविधिले उद्धारमा अवरोध पुर्‍याएको उनको भनाइ थियो।

बाढीमा ज्यान गुमाएका नागरिकको शव पहिचान, डीएनए परीक्षण र ससम्मान परिवारलाई हस्तान्तरण गर्ने विषयमा समेत सरकार असंवेदनशील बनेको उनले बताए। साथै, राहत वितरण पहुँचका आधारमा नभई वास्तविक तथ्याङ्क भएका स्थानीय तहमार्फत पारदर्शी रूपमा वितरण गरिनुपर्नेमा उनले जोड दिए।

९.प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा बाढी आएको सूचना प्राप्त भएदेखि सरकारले नागरिकको जीवनरक्षाका लागि गरेका तयारी, खोज तथा उद्धार र राहतका कामबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको समयमा देशको नेतृत्वले जनतालाई हिम्मत र भरोसा दिनुपर्ने भन्दै सरकारले विपत्तिको यथार्थ स्वीकार गरेर संकल्प र साहसका साथ अघि बढेको बताए।बाढी आउनुअघि नै प्रभावित क्षेत्रका नागरिकलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा सरकारले तयारी गरेको र  बाढीको सूचना प्राप्त भएलगत्तै सरकारले विभिन्न निकायलाई परिचालन गरेको बताएका छन्।

१०. काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा गत भदौ १० गते बुधबार आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति संसद्ले शोक व्यक्त गरेको हो।

प्रस्तावमा उल्लेख भएअनुसार बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाट लगायतका क्षेत्रमा निकै ठुलो विध्वंस मच्चाएको छ।यस क्रममा धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता भएका छन् भने ठुलो संख्यामा मानिसहरूको मृत्यु भएको छ। प्रतिनिधि सभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीका कारण घरबारविहीन भएका नागरिकहरूको तत्काल उचित व्यवस्थापन र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?