सुर्खेतकी इनिषा मृत्यु प्रकरण : सर्वोच्चद्वारा तीन बालकलाई छाड्न आदेश

समाचार सारांश
Auto Generated by AI
  • सुर्खेतकी इनिषा विक मृत्यु प्रकरणमा जोडिएका तीन जना बालकलाई सर्वोच्च अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ।
  • जिल्ला र उच्च अदालतले उनीहरूलाई बालसुधार गृह पठाउने गरी गरेको पूर्व आदेशलाई सर्वोच्चले बदर गरेको छ।
  • घटनामा संलग्नताको प्रमाण नभेटिएको भन्दै अदालतले उनीहरूलाई तारेखमा राखी मुद्दाको कारबाही अघि बढाउन भनेको छ।

सुर्खेत । सुर्खेतकी १६ वर्षीया बालिका इनिषा विककाे मृत्यु प्रकरणमा जोडिएका तीन जना बालकलाई सर्वोच्च अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ।
जबरजस्ती करणी गरी ज्यान मारेको अभियोग लागेका तीन जना नाबालकहरूलाई बालसुधार गृह पठाउने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेश बदर गर्दै सर्वोच्चले उनीहरूलाई अभिभावकको जिम्मा लगाउन भनेको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको अघिल्लो आदेश बदर गरेको हो।
सर्वोच्चको यो आदेशसँगै परिवर्तित नाम वीरेन्द्रनगर (ध), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई अभिभावकको जिम्मामा छाडेर मुद्दाको बाँकी कारबाही अघि बढाउन बाटो खुलेको छ।
यसअघि सुर्खेत जिल्ला अदालतले १७ चैत २०८२ मा उनीहरूलाई थुनछेक आदेशमार्फत बालसुधार गृह पठाउने निर्णय गरेको थियो। सोही आदेशलाई उच्च अदालत सुर्खेतले २४ वैशाख २०८३ मा सदर गरेपछि बालकहरूका तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको थियो।
सर्वोच्च अदालतले उनीहरूलाई थुनामुक्त गर्नुका पछाडि विभिन्न प्रमाण र कानुनी आधारहरू औंल्याएको छ। अभियुक्त बालकहरूले प्रहरी र अदालतसमक्ष बयान दिँदा आरोप पूर्ण रूपमा अस्वीकार गरेको तथा मुद्दाका मुख्य आरोपी बालक वीरेन्द्रनगर (प) ले समेत उनीहरूलाई घटनामा संलग्न रहेको भनी पोल नगरेको आदेशमा उल्लेख छ।
त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको प्राविधिक विश्लेषण, फोन संवाद समय, ट्राफिक कार्यालय तथा कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन विभाग र प्रदेश आयुर्वेद अस्पतालको सीसीटीभी फुटेज अध्ययन गर्दा यी बालकहरू घटना घटेर पीडित बेहोस भइसकेपछि उद्धार र सहयोगका लागि मात्र घटनास्थल पुगेको देखिएको सर्वोच्चकाे आदेशमा भनिएकाे छ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुर्पक्षका लागि बालसुधार गृहमा नै राख्नुपर्ने अवस्था विद्यमान नरहेको निष्कर्ष अदालतले निकालेको छ।
अदालतले बालबालिका सम्बन्धी ऐन अनुसार बालकहरूलाई उनीहरूका बाबु, आमा वा परिवारका जिम्मेवार व्यक्तिको जिम्मा लगाई मुद्दाको कारबाही अघि बढाउन भनेको छ।
तर, मुद्दा किनारा नलागुञ्जेल अदालतले खोजेका बखत अनिवार्य रूपमा उपस्थित गराउनुपर्ने र अदालतको पूर्वअनुमति नलिई देश बाहिर जान नपाउने शर्तसमेत तोकिएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ मा परिवारका साथ बस्दै आएकी १६ वर्षीया इनिषा २३ फागुन २०८२ मा बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्।
बिहान ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय नाबालक वीरेन्द्रनगर (प) र त्यसपछि अनुसन्धानकाे क्रममा थप तीन जना बालकलाइ नियन्त्रणमा लिएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?