
- रसुवाको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म १६२ जनाको मृत्यु भएको छ।
- बेपत्ताहरूको खोजी र उद्धारका लागि ३३९ जना प्रहरी परिचालन गरिए पनि २८ प्रहरी अझै सम्पर्कविहीन छन्।
- बाढीमा परी घाइते भएका ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १६२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ । बाढीपछि उद्धार, खोजी तथा सुरक्षा व्यवस्थाका लागि ३३९ जना प्रहरी परिचालन गरिएको छ भने प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये ठूलो संख्या अझै सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत २ जनामध्ये १ जना, स्याफ्रुबेँसीमा कार्यरत ८ जनामध्ये ५ जना, मैलुङमा कार्यरत ५ जनामध्ये ३ जना, बेत्रावतीमा कार्यरत १० जनामध्ये २ जना र हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् । विवरणअनुसार हालसम्म २८ जना प्रहरी सम्पर्कमा नआएको जनाइएको छ । बाढीमा घाइते भएका ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये त्रिवि शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा ३ जना, बीरेन्द्र सैनिक अस्पतालमा ९ जना, ग्रिन सिटीमा ९ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा १ जना उपचाररत रहेको विवरणमा उल्लेख छ ।
