
- वैज्ञानिकहरूले एआईको सहयोगमा सुतेको बेला मस्तिष्क सफा हुने प्रक्रियालाई प्रत्यक्ष रूपमा पत्ता लगाएका छन्।
- मस्तिष्कको बाहिरी र भित्री भागमा तरल पदार्थको बहाव फरक गतिमा हुने र यसले हानिकारक प्रोटिन पखाल्ने काम गर्छ।
- पर्याप्त निद्राको अभावमा यो प्रक्रिया सुस्त हुँदा अल्जाइमर्स जस्ता रोग लाग्ने भएकाले स्वस्थ रहन राम्रो निद्रा आवश्यक छ।
वैज्ञानिकहरू मानिस निदाएका बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाइ प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन् ।

‘साइन्स एड्भान्सेज’ जर्नलमा प्रकाशित नयाँ अनुसन्धानअनुसार वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन् ।
युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने २ वटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन् । मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो ५० गुणा सुस्त गतिमा बग्ने गर्छ ।
हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ । तर उमेर ढल्किँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाइ प्रक्रिया सुस्त हुन्छ जसका कारण अल्जाइमर्स र पार्किन्सन्सजस्ता जटिल रोगहरू लाग्ने गर्छन् ।
एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्नेबारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मद्दत पुग्नेछ । यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ ।
मस्तिष्कलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन् ।
