रुपन्देही – पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजार नजिकै अनियन्त्रित भई सडकको विपरित लेनमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिएका छ्न ।

दुर्घटनामा गम्भीर घाइते एक पुरुष यात्रुलाई उपचारका लागि चिसापानी अस्पताल बर्दघाट लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अगाडि रहेको अटो रिक्शालाई जोगाउने प्रयासमा बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
