
- मुगुको पुलु बजारमा पहिरोबाट प्रभावित ९ परिवारलाई खाद्यान्न र लत्ताकपडा लगायतका राहत सामग्री वितरण गरिएको छ।
- गत साउनमा गएको पहिरोमा परी ज्यान गुमाएका बालकको परिवारलाई खाद्यान्नसँगै नगद सहयोग पनि प्रदान गरिएको छ।
- विकट भूगोल र सडक सञ्जाल नभएकाले पैदल हिँडेरै राहत सामग्री घरसम्म पुर्याएपछि स्थानीय बासिन्दा खुसी भएका छन्।
रतन बहादुर रावल मुगु— मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा पहिरोबाट प्रभावित तथा जोखिममा परेका परिवारलाई मंगलबार एक औपचारिक कार्यक्रमका बीच राहत सामग्री वितरण गरिएको छ। महिला अधिकार केन्द्र मुगु र टेवा को आर्थिक सहयोग एवं प्राविधिक समन्वय तथा मुगुम कार्मारोङ गाउँपालिकाको आयोजनामा सो राहत हस्तान्तरण गरिएको महिला अधिकार केन्द्र मुगु अध्यक्ष सुखमाया शाहीले बताउनु भयो।


गत साउन ८ गते शुक्रबार राति आएको पहिरो को कारण पुलु बजारमा ठूलो भौतिक क्षति पुगेको थियो। सोही विपत घटनामा परी छायाँनाथ रारा नगरपालिका–१३, तिर्प गाउँ स्थायी घर भई हाल पुलु बजारमा होटल व्यवसाय गर्दै आएका जगनाथ बढुवालका ३ वर्षीय छोरा रमेश बडुवालको दुःखद निधन भएको थियो।
पहिरोबाट प्रभावित बनेका मुगुम कार्मारोङ गाउँपालिका वडा नं५ पुलु बजारका ९ घरपरिवारलाई तत्काल राहत स्वरूप प्रतिपरिवार लाई एक बोरा चामल, दाल खाने तेल, र चिउरा लगायतका अन्ने अत्यावश्यक खाद्य सामग्रीहरू उपलब्ध सँगै लत्ता कपडा फाइबर डसना सिरक खोल समेत उपलब्ध गराइएको छ।
विपद्को घडीमा पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले पहिरोमा छोरा गुमाएका जगनाथ बडुवालको परिवारलाई खाद्यान्न सामग्री दुई बोरा चामल दाल तेल नुन चिउरा र लत्ताकपडाका साथै नगद सहयोग समेत प्रदान गरिएको छ। महिला अधिकार केन्द्रकी अध्यक्ष शाहीले बताउनुभयो यसैगरी, पहिरोले पूर्ण रूपमा घर भत्किएर विस्थापित भएका पेमा छेन्जोक तोर्चे तामाङ र पेमा सांगे तामाङको परिवारलाई तत्काल रात काट्न सहज होस् भन्ने हेतुले एक–एक थान फाइबर तन्ना एक थान ब्लाङ्केट वितरण गरिएको बताउनु भयो
विपद्को समयमा सरकारी तथा गैरसरकारी संस्थाहरूको यो सक्रियताले पीडित परिवारलाई ठूलो राहत मिलेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
भौगोलिक विकटता र एक दिनको पैदल यात्रा हिँडेर राहत सामग्री पीडितको घर आँगनमा पुर्याएपछि पीडित निकै खुसी भएका छन्। बर्खायाम म सडक राम्रो छैन अझ भनौँ हाम्रो गाउँपालिका त सडक सञ्जालमा पनि जोडिएको छैन। यस्तो कठिनाइका बावजुद पनि हाम्रै घर आगनमा राहत ल्याएर पुगेकोमा हार्दिक आभार व्यक्त समेत गरेका छन्।

