
- पूर्वप्रधानमन्त्री देउवाले आफू र पत्नी आरजुलाई फसाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो।
- अदालत र छानबिन आयोगले आफूलाई निर्दोष ठहर गरेको दाबी उहाँले गर्नुभयो।
- राजा ज्ञानेन्द्रले समेत आफूलाई केही गर्न नसकेको भन्दै उहाँले कसैको धम्की नमान्ने बताउनुभयो।
काठमाडौ – नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत आफूलाई केही गर्न नसकेको भन्दै अहिले अरू कसैले पनि आफूविरुद्ध केही गर्न नसक्ने दाबी गर्नुभएको छ।

विदेशबाट स्वदेश फर्किएलगत्तै बिहीबार कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले आफू र पत्नी डा. आरजु राणा देउवाविरुद्ध विभिन्न निकायमार्फत मुद्दा चलाएर फसाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको हो।
देउवाले आफूहरूलाई पक्राउ नगर्न अदालतले आदेश दिएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा समेत केही नदेखिएको दाबी गर्नुभयो।
‘अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो। तैपनि बदमासी गर्यो। सम्पत्ति शुद्धीकरण आयोग पहिलोपल्ट आयो, केही पनि छैन भन्यो, दोस्रोपल्ट आयो, केही छैन भन्यो,’ उहाँले भन्नुभयो।
देशमा अझै सचेत नागरिक र न्यायपालिका जीवित रहेको उल्लेख गर्दै देउवाले आफूविरुद्ध भएका गतिविधिका विषयमा आगामी दिनमा सबै कुरा स्पष्ट पार्दै जाने बताउनुभयो।
उहाँले आफू र पत्नी आरजुविरुद्ध देश तथा विदेशका विभिन्न निकाय प्रयोग गरेर मुद्दा लगाउने प्रयास भएको आरोपसमेत लगाउनुभयो।
‘यो देशको जनता छ, यो देशको अदालत छ। सबैले जानेको छ, बुझेको छ,’ देउवाले भन्नुभयो, ‘राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेन भने अरूले यहाँ के गर्न सक्छन्?’
करिब साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किनुभएका देउवाले पार्टीभित्र देखिएका असहमति र विवाद समाधान गरी कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ।
