
दिनेश खत्री
अछाम — जिल्लाको रामारोशन गाउँपालिका–२, मुजाबगरस्थित जयगढ–शान्तडा भित्रि कच्ची सडक खण्डमा अविरल वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
भारी वर्षासँगै गएको पहिरोले यातायात पूर्णरूपमा बन्द भएको छ।
सडक अवरुद्ध भएपछि नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरूको सक्रियतामा पहिरो हटाई सडक खुलाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाले पहिरो पन्छाउने कार्यमा कठिनाइ भएको भए पनि जनशक्ति तथा साधनस्रोत प्रयोग गरेर यथासिघ्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
स्थानीयवासीका अनुसार सडक अवरुद्ध हुँदा क्षेत्रका बासिन्दालाई दैनिक यात्रामा समस्या भएको छ भने अत्यावश्यक सेवा पनि प्रभावित भएको छ।
प्रशासनले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ र सम्भावित थप जोखिमको मूल्याङ्कन गर्दै आवश्यक सहायता प्रदान गर्ने तयारी गरेको जनाएको छ।
