
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले धार्मिक स्थल तोडफोड गर्नेलाई कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन्।
- सरकारको कमजोरीले धार्मिक द्वन्द्व बढेको भन्दै उनले दोषीलाई कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
- रास्वपा सांसद इन्दिरा राना मगरले कोर्रा हान्ने प्रस्तावको विरोध गर्दै सो शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्।
काठमाडौ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन्।

संसदीय दलका नेतासमेत रहेका राईले मंगलबारको संसद् बैठकमा बोल्दै धार्मीक द्वन्द्व फैलाउनेहरूलाई कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका हुन्। उनले देशका मस्जिद, गुम्बा, मन्दिरहरू भत्काउने काम भएकाले त्यस्ता कार्यमा संलग्नहरूलाई मायाँले छानबिन गर्न नहुने उनको भनाइ थियो।
‘भर्खरै देशमा थुप्रै मस्जिदमा, मदरसामा आगो लगाइयो। कहिले गुम्बा तोडिन्छन्। मन्दिर भत्काइन्छन्। कहिले माङखिम तोडिन्छन्। सरकारले कमजोर भएका कारण त्यो हुन्छ। सरकारले कारवाही नै गर्न सक्दैन। मेरो तेरो नभनी फटाहाहरूलाई कर्याप झ्याप पारेर हानौँ न कोर्रै कोर्राले। त्यस्तो कानुन बनाऊँ। यहि हो कानुन बनाउने ठाउँ। यसो लैजाने मायाले छानिबन गर्ने सोधपुछ गर्ने अनि सेटिङमा निस्केर हुन्छ। हुँदैन’, उनले भने।
राईले कोर्रा हान्ने कानुन बनाउनुपर्ने भन्दै बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले नियमापत्ति जनाएकी थिइन्। उनले अपराधै गरेका नागरिक भए पनि कोर्रा हान्ने कानुन बनाउन नहुने बताइन् भने संसद्को रेकर्डबाटसमेत उक्त शब्द हटाउन माग गरिन्।
‘कोर्रा लगाउने, यातना दिनुहुन्न भन्ने कानुन ल्याउने व्यक्तिमा म पर्छु। जनतालाई कोर्रा लगाउने उपयुक्त शब्द भएन। ती शब्द सुधार्नुपर्यो। रेकर्डबाट हटाउन अनुरोध गर्दछु’, पूर्व उपसभामुखसमेत रहेकी राना मगरले भनिन्।
