
- मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो पाँच वर्षको कार्यकालको सम्पूर्ण सेवा-सुविधा जनताको हितमा खर्च गर्ने घोषणा गरेका छन्।
- उनले प्राप्त हुने करिब २८ लाख १४ हजार रुपैयाँलाई शिक्षा, स्वास्थ्य, विपन्न वर्गको सहयोग र सार्वजनिक पूर्वाधार निर्माणमा परिचालन गर्ने योजना सार्वजनिक गरेका छन्।
- नगरप्रमुख भामले राजनीति सेवाको माध्यम भएको बताउँदै सुविधा भोग्नुभन्दा जनताको दैनिक जीवनमा प्रत्यक्ष लाभ पुग्ने गरी काम गर्न प्राथमिकता दिएका छन्।
रतन बहादुर रावल — साउन २५ मुगु मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनताको हितमा लगानी गर्ने घोषणा गरेका छन् ।

नगरप्रमुख भामले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै आफूले पाउने पारिश्रमिक, दशैँ सुविधा तथा विभिन्न बैठक, कार्यक्रम, तालिम र गोष्ठीबाट प्राप्त हुने भत्तालगायत सेवा–सुविधालाई शिक्षा, स्वास्थ्य, विपन्न तथा दलित समुदाय, विपद् प्रभावित नागरिक र सार्वजनिक पूर्वाधारका क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गर्नुभएको विवरण अनुसार पाँच वर्षको ५९ महिनाको पारिश्रमिक, पाँच वटा दशैँ सुविधा तथा अन्य सेवा–सुविधासहित करिब २८ लाख १४ हजार रुपैयाँ प्राप्त हुने देखिन्छ । सो रकमलाई जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यक्रममार्फत खर्च गर्ने योजना सार्वजनिक गरिएको छ ।
नगरप्रमुख भामले निर्वाचनका बेला नगरवासी समक्ष आफ्नो सेवा–सुविधाबाट एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता गरेको स्मरण गर्दै अहिले उक्त योजना तत्कालका लागि पुन मूल्यांकन गरिएको बताए । उनका अनुसार छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका, छायाँनाथ सहकारी, जिल्ला अस्पताल तथा रेडक्रसका गरी ८ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।
तर, सडक यातायातको सीमितता र भौगोलिक कठिनाइका कारण बजार तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका एम्बुलेन्ससमेत कतिपय अवस्थामा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अवस्था रहेको उनको भनाइ छ । त्यसैले नयाँ एम्बुलेन्स खरिद गरेर मात्र नागरिकलाई स्वास्थ्य सेवा सहज हुन्छ भन्ने अवस्थाभन्दा उपलब्ध स्रोतलाई तत्काल प्रतिफल दिने क्षेत्रमा परिचालन गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेको नगरप्रमुख भामले स्पष्ट पारेका छन् ।
‘जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने नाममा राज्यको स्रोत त्यस्तो क्षेत्रमा लगानी गर्नु उचित हुँदैन, जहाँ तत्काल अपेक्षित प्रतिफल प्राप्त नहुन सक्छ, त्यसको सट्टा जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने र तत्काल लाभ पुग्ने क्षेत्रमा स्रोत परिचालन गर्नुपर्छ,’ उनले भने । एम्बुलेन्स खरिदका लागि सम्भावित बजेट तथा स्रोतलाई अब शिक्षा, स्वास्थ्य, विपन्न नागरिकको सहयोग तथा सार्वजनिक पूर्वाधार निर्माणमा परिचालन गर्ने योजना बनाइएको उनले बताए ।
शिक्षा सुधारदेखि विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
नगरप्रमुख भामको योजनामा सबैभन्दा महत्वपूर्ण प्राथमिकता शिक्षा सुधारलाई दिइएको छ । आर्थिक अभावका कारण प्रतिभावान् तथा जेहेन्दार विद्यार्थीले आवश्यक शैक्षिक सामग्री प्राप्त गर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम अघि बढाइने उनले बताए ।
सार्वजनिक गरिएको लागत अनुमान अनुसार शैक्षिक सामग्री वितरण कार्यक्रमका लागि ८ लाख ५४ हजार रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रम छायाँनाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ, सोरु र खत्याड गाउँपालिकाका विद्यालयमा आवश्यकताका आधारमा सञ्चालन गर्ने योजना छ ।
नगरप्रमुख भामले कुनै विद्यार्थी आर्थिक अभावकै कारण पढाइबाट पछाडि पर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम अघि बढाउन लागेको बताए । यसैबीच दलित तथा विपन्न वर्गका बालबालिकालाई लक्षित गरी ४ लाख ६० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई आवश्यकताका आधारमा सहयोग गरिने र सहयोगमा कुनै राजनीतिक आस्था, दल वा व्यक्तिगत सम्बन्धलाई आधार नबनाइने नगरप्रमुख भामले स्पष्ट पारेका छन् । विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोगका लागि ४ लाख रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ ।
नगर प्रमुख भामले जनताको दुःखलाई आफ्नो दुःख र जनताको खुसीलाई आफ्नो खुसी ठानेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विपद्का बेला तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले रकम परिचालन गरिने बताए ।
पाटी–पौवा, खानेपानीदेखि सरसफाइसम्म
सार्वजनिक स्थलमा आवश्यक पाटी, पौवा, खानेपानी तथा धारा निर्माण र मर्मतका लागि ४ लाख रुपैयाँ, प्रारम्भिक बाल विकास ९ईसीडी० कक्षाका बालबालिकाका लागि खेलौना तथा अन्य सामग्री सहयोगमा २ लाख रुपैयाँ र सरसफाइ सामग्री वितरणमा २ लाख रुपैयाँ खर्च गर्ने योजना छ ।
त्यस्तै बिरामी भेटघाट कार्यक्रममा फलफूल तथा अन्य सहयोगका लागि ३ लाख रुपैयाँ विनियोजन गर्ने योजना सार्वजनिक गरिएको छ । यी कार्यक्रमका लागि सार्वजनिक गरिएको लागत अनुमानअनुसार कुल २८ लाख १४ हजार रुपैयाँ खर्च हुने देखिन्छ ।
जनताको जीवनमा प्रत्यक्ष प्रभाव
नगरप्रमुख भामले विकास भन्नाले ठूला–ठूला भवन र सडक निर्माण मात्र नभएको बताए । उनका अनुसार गाउँको सार्वजनिक धारा, यात्रु बस्ने चौतारो, विद्यार्थीले पढ्न पाउने कापी–कलम र विपन्न परिवारले पाउने सानो राहत सहयोगले पनि नागरिकको जीवनमा ठूलो अर्थ राख्न सक्छ ।
‘हाम्रो प्राथमिकता ठूलो देखिने योजनाभन्दा ‘जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना हुनुपर्छ,’ उनले भने । उनले कार्यक्रम सञ्चालन गर्दा छायाँनाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ गाउँपालिकाका खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा सम्बन्धित विद्यालय, वडा र स्थानीय आवश्यकताको पहिचान गरी प्राथमिकता निर्धारण गरिने बताए ।
कुन ठाउँमा बढी आवश्यकता छ, कुन विद्यार्थी वास्तविक रूपमा विपन्न छन्, कुन समुदायलाई तत्काल सहयोग आवश्यक छ र कुन सार्वजनिक संरचना आवश्यक छ भन्ने विषयमा सम्बन्धित निकाय तथा स्थानीय समुदायसँग समन्वय गरिने उनले स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा नगरप्रमुख भामले आफ्नो राजनीतिक दर्शनसमेत स्पष्ट पारे । उनले जनप्रतिनिधिको पद केवल पद प्राप्त गर्ने माध्यम नभई जनताले दिएको विश्वास, जिम्मेवारी र अवसर भएको बताए । ‘राजनीति व्यवसाय होइन, सेवा हो। जनताको स्रोत व्यक्तिगत सम्पत्ति होइन, सार्वजनिक सम्पत्ति हो। जनप्रतिनिधिको पद सुविधा भोग्नका लागि होइन, जिम्मेवारी पूरा गर्नका लागि हो,’ उनले भने ।
नगरप्रमुख भामले आफूले कानुनबमोजिम पाउने सेवा–सुविधा लिनु गलत नभए पनि त्यसलाई राजनीतिलाई कमाइ खाने माध्यम बनाउनु गलत भएको धारणा राखे । नगरप्रमुख भामले आफ्नो लक्ष्य पद, सुविधा वा भाषण नभई परिणाम र जनताको हित भएको बताए ।
उनले भने, ‘हाम्रो लक्ष्य पद होइन, परिणाम हो। हाम्रो प्राथमिकता सुविधा होइन, सेवा हो। हाम्रो राजनीति व्यक्तिगत स्वार्थ होइन, जनताको हित हो, भाषण होइन, काम हो ।’ उनले आफूले निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धता नै आफ्नो नैतिक जिम्मेवारी भएको बताउँदै परिस्थितिअनुसार कुनै योजना परिमार्जन गर्नुपरे पनि त्यसको अन्तिम उद्देश्य जनताको हित नै हुनुपर्ने धारणा राखे ।
नेता विशुद्ध सेवक हुनुपर्छ
नगरप्रमुख भामले अहिले राजनीतिमा जनताको सेवा गर्नेभन्दा ठेक्कापट्टा, एनजीओ, आईएनजीओ, सहकारीलगायत विभिन्न क्षेत्रमा व्यक्तिगत स्वार्थ र पहुँच विस्तार गर्ने प्रवृत्ति बढेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले राजनीति जनताको सेवा गर्ने माध्यम हुनुपर्ने बताउँदै आफू राजनीतिलाई व्यवसाय, पेशा वा कमाइ खाने भाँडो बनाउन नहुने पक्षमा रहेको स्पष्ट पारे ।
‘वास्तवमा राजनीति गर्ने नेता भनेको विशुद्ध सेवक हुनुपर्छ। जनताको सेवा गर्दागर्दै नेता भनेको जोगीजस्तै हुनुपर्छ, जनता रोए रुने, जनता हाँसे हाँस्ने हुनुपर्छ। तर यहाँ त्यसको उल्टो भएको छ,’ उनले भने । उनले आफ्नो राजनीति जनताको सेवा, सार्वजनिक हित र जिम्मेवारीका लागि हुने बताउँदै राज्यको सम्पत्ति दोहन नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
नगरप्रमुख भामले सहिदहरूको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउन स्थानीय सरकार पारदर्शी, जवाफदेही र जनउत्तरदायी बन्नुपर्ने बताए । उनले जनताले आफ्नो मत दिएर प्रतिनिधि बनाएपछि जनप्रतिनिधिको पहिलो कर्तव्य जनताप्रति जवाफदेही हुनु भएको बताउँदै आफूले प्राप्त गर्ने सेवा–सुविधा र त्यसको उपयोगसमेत सार्वजनिक गर्नु त्यसैको एउटा हिस्सा भएको उल्लेख गरे ।
नगरप्रमुख भामले आगामी वर्ष २०८४ साल जेष्ठ २० गतेदेखि यी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारीसमेत दिए । उनले जनप्रतिनिधिको पद केवल पद प्राप्त गर्ने माध्यम नभई जनताले दिएको विश्वास, जिम्मेवारी र अवसर भएको बताए ।
‘राजनीति व्यवसाय होइन, सेवा हो, जनताको स्रोत व्यक्तिगत सम्पत्ति होइन, सार्वजनिक सम्पत्ति हो, जनप्रतिनिधिको पद सुविधा भोग्नका लागि होइन, जिम्मेवारी पूरा गर्नका लागि हो,’ उनले भने । नगरप्रमुख भामले आफूले कानुनबमोजिम पाउने सेवा–सुविधा लिनु गलत नभए पनि त्यसलाई राजनीतिलाई कमाइ खाने माध्यम बनाउनु गलत भएको धारणा राखे ।
मेरो लक्ष्य पद होइन, परिणाम हो
नगरप्रमुख भामले आफ्नो लक्ष्य पद, सुविधा वा भाषण नभई परिणाम र जनताको हित भएको बताए । उनले भने, ‘हाम्रो लक्ष्य पद होइन, परिणाम हो। हाम्रो प्राथमिकता सुविधा होइन, सेवा हो। हाम्रो राजनीति व्यक्तिगत स्वार्थ होइन, जनताको हित हो, भाषण होइन, काम हो ।’
उनले आफूले निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धता नै आफ्नो नैतिक जिम्मेवारी भएको बताउँदै परिस्थिति अनुसार कुनै योजना परिमार्जन गर्नुपरे पनि त्यसको अन्तिम उद्देश्य जनताको हित नै हुनुपर्ने धारणा राखे ।

