
- मुगुको नाग्मा–गमगढी सडकखण्डमा पहिरो खस्दा यातायात पूर्ण रूपमा बन्द भएको छ।
- ठूलो पहिरोका कारण सडक खुलाउन समय लाग्ने देखिएपछि यात्रु र पर्यटक अलपत्र परेका छन्।
- सम्बन्धित निकायले अवरोध हटाउन पहल सुरु गरे पनि तत्काल यातायात सुचारु हुन कठिन छ।
रतन बहादुर रावल मुगु – कर्णाली राजमार्ग अन्तर्गतको नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार राति मुगुको छायाँनाथ रारा नगरपालिका – ८ स्थित झ्यारी खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक साइट सुपरभाइजर जग्गी बहादुर मल्लका अनुसार पहिरो ठूलो भएकाले बाटो खुलाउन लामो समय लाग्ने अनुमान गरिएको छ । सडक खुलाउन प्रहरी स्थानीय नागरिक होटल व्यवसायीसहित जेसिवीले पहिरो हटाउन सुरु गरेको छ ।
पहिरो ठुलो मात्रामा भएकोले ठूलो जेसीबी मगाउने कार्य भइरहेको सुपरभाइजर मल्लले बताए । सडक पूर्ण रूपमा बन्द भएपछि मुगुको सदरमुकाम गमगढी आउने र गमगढीबाट बाहिरिने कैयौँ साना तथा ठूला सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन् ।
बाटो बन्द हुँदा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू र मुगु सदरमुकामका लागि अत्यावश्यक सामग्री बोकेर आएका मालवाहक ट्रकहरू बीच बाटोमै रोकिएका छन् । अवरुद्ध सडकका कारण यात्रु र पर्यटकहरूले निकै सास्ती व्यहोर्नु परेको छ । सम्बन्धित निकायले सडक खुलाउन पहल गरिरहेको भए पनि पहिरोको प्रकृति हेर्दा तत्कालै यातायात सुचारु हुन कठिन देखिएको छ ।

