मुगु ।रतन रावल छायाँनाथ रारा नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा अब हप्ताको एक दिन मात्र सार्वजनिक बिदा हुने भएको छ। नगरपालिकाको नगर कार्यपालिकाको मिति २०८३ वैशाख २५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल सरकारले हाल सरकारी कार्यालयहरूमा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिँदै आएको भए पनि छायाँनाथ रारा नगरपालिकाले भने विद्यालयहरूको हकमा उक्त व्यवस्था परिवर्तन गरेको छ। नगरपालिकाद्वारा जारी सूचनाअनुसार, अब उप्रान्त यस नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूमा शनिबार मात्र सार्वजनिक बिदा दिइनेछ।

नगरपालिकाले यो निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै विद्यालयहरूलाई पत्राचार गर्दै सोही बमोजिम शैक्षिक गतिविधि अगाडि बढाउन अनुरोध गरेको छ। आइतबारको बिदा कटौती भएसँगै विद्यार्थीहरूको पठनपाठनमा थप समय उपलब्ध हुने र शैक्षिक सत्रको कार्यतालिका प्रभावित नहुने विश्वास लिइएको छ।

